चोरमारा । नवलपुरको मध्यविन्दुमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा समाजमा व्याप्त किशोरी र महिलामाथिको हिंसा अन्त्य गर्नका लागि घरबाट सुरक्षित अभियानको सुरुआत गर्न र किशोरीहरूको शसक्तिकरणका लागि अभियानहरू अघि बढाउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।
१६ दिने लैंगिक हिंसा विरुद्धको अभियानअन्तर्गत आयोजित यस कार्यक्रमका वक्ताहरूले किशोरीहरूको समस्या र हिंसाको रोकथामको लागि सबैको सहभागिता र योगदान आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा सहभागी वक्ताहरूले आफूले भोगेका अनुभव र सिकाइहरू किशोरीहरूसँग साझा गर्दै समाजमा रहेका विभिन्न समस्याहरूका समाधानका लागि युवाहरूको सक्रियता बढाउनु पर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालयका महिला बालबालिका सेल प्रमुख बिन्दु विकले किशोरीहरूलाई “मेरो शरीर मेरो अधिकार हो” भन्ने कुरा बुझाउन आवश्यक रहेको र यस दिशामा सवैजना लाग्नुपर्ने बताउनुभयो।
कावासोतीकी किशोरी अभियन्ता शशी कार्की क्षेत्रीले किशोरीहरूको शसक्तिकरणका लागि समाजका विभिन्न पक्षका सहयोग आवश्यक रहेको र किशोरी लक्षित कार्यक्रमहरूको अभावले समस्याहरूको समाधानमा चुनौती प्रस्तुत गरिरहेको बताइन्। यस्तै, युवा अभियन्ता मनिषा पौडेलले किशोरीहरूको क्षमता विकासका लागि शिक्षा र सामाजिक क्रियाकलापमा सक्रियता महत्वपूर्ण भएको धारणा व्यक्त गरिन्।
कार्यक्रममा प्रिन्सी काफ्लेले छोरीमात्र भएका परिवारहरूमा पनि समान अवसर र शिक्षा दिइएमा हिंसा र शोषणको अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिन्। यसैगरी, नगरपालिकामा “हाम्रो खुसी” पाठ्यक्रम लागु गरी अनुशासित र शैक्षिक क्रियाकलापहरुलाई व्यवस्थित रुपमा अगी बढाउन पहलहरु गरिरहेको र विद्यालय भित्र हुने हिंसा, शोषण र असमानता अन्त्यको लागि समेत शिक्षा शाखा प्रतिबद्ध रुपमा लागिरहेको शिक्षा प्रविधिक सहायक गीता चापागाईले बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता धनु भुसालले स्थानीय सरकार र सरोकारवालाहरूले यस्ता कार्यक्रमहरूमा थप ध्यान दिनुपर्ने र समस्याहरूको समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएकी थिइन् ।
यस कार्यक्रमको आयोजनामा जागृति बाल तथा युवा सरोकार नेपाल, नवलपुर किशोरी सञ्जाल, क्रियाशिल पत्रकार महिला नवलपुर र क्यान्नालनको सहकार्य रहेको थियो। कार्यक्रमका सहभागीमा देवचुली, कावासोती र मध्यविन्दुका बाल सञ्जालका सदस्यहरू, किशोरीहरू र अन्य समुदायका व्यक्तिहरू समावेश थिए।