२०८२ अषाढ ४, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु – ३ ब्रह्मस्थान: बेपत्ता छोराको प्रतीक्षामा गुरुङ परिवारको दशैं

२०८१ आश्विन २६, शनिबार प्रकाशित ( महिना अघि) १३९९ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दु – ३ ब्रह्मस्थानस्थित बोटे टोलमा गुरुङ परिवार बस्छन्न । यो परिवारमा नन्दे गुरुङ, उनकी पत्नी राजकुमारी, र उनका जेठा छोरा उत्तम छन्। दशैंको टीकाको दिन गाउँलेहरू हर्षोल्लासका साथ दसैं मनाइरहेका थिए, तर गुरुङ परिवारको घरमा भने शान्ति र चिन्ताको वातावरण थियो।

गत साउन २३ गते साँझ, उत्तम घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन् । तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उनकी आमा राजकुमारी छोराको चिन्ताले झनै थलिएकी छिन्। “घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन,” गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, “कहाँ गएको हो, आफन्त गाउँलेहरू मिलेर धेरै ठाउँमा खोज्नुभयो, तर छोराको बारेमा केही थाहा पाउन सकिएन।”

उत्तमका बाबु नन्दे गुरुङलाई पनि छोराले किन घर छाडेर हिँड्यो भन्ने थाहा छैन । “हामी बाउछोरा भएर तरकारीखेती, कुखुरापालन तथा बाख्रा व्यावसायिक रूपमा पाल्दै आएका थियौँ,” उनले भने, “दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन।”

गुरुङ परिवारले प्रहरी र सङ्घसंस्थासँग गुहार मागे पनि उत्तमको कुनै पत्तो लागेन । नन्दे र उत्तम दुबईमा पाँच वर्ष वैदेशिक रोजगारमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आएका थिए । पत्नी बिरामी भएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए।

“घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैं मनाउनु खै,” मलीन मुद्रामा नन्देले भने, “अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।” छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%

प्रतिक्रिया दिनुहोस