नारायण शर्मा
कावासोती । महेन्द्र राजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले चोरमारा-अरुणखोला खण्डमा कालोपत्रको काम भइरहेको जनाएको छ ।
आइतबार राति अबेर एक सूचना प्रकाशन गरेर राजमार्ग निमार्ण अन्तर्गत अबको सबै काम चोरमारा अरुणखोला क्षेत्रमा केन्द्रित रहेर काम सुरु गरेको जनाएको छ ।
चोरमारा अरुणखोला सडक खण्ड करिब १५ किलोमिटर छ । चोरमारादेखि दाउन्नेसम्मको करिब ३४ किलोमिटर क्षेत्रमा राजमार्ग भत्काएर छोडिएको छ । त्यहाँ खाल्डैखाल्डा र धुलाम्य सडक छ ।
वर्षा भएको भन्दै गत जेठ पहिलो सातादेखि राजमार्ग निर्माणको काम रोकेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गत एक सातादेखि त्यो खण्डमा केन्द्रित भएर काम भइरहेको र चाँडै त्यो सडक कालोपत्रे गर्ने जनाएको छ।
महेन्द्र राजमार्ग फारकिलो पार्ने काम ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले काम थालेको ६ वर्ष बितिसक्दा गत साउन मसान्तसम्म ५३ प्रतिशत मात्र काम गरेको छ ।
चाडवाडमा धेरै सवारी ओहोरदोहोर गर्ने महेन्द्र राजमार्गको अवस्था बिजोग छ । अघिल्लो साता महेन्द्र राजमार्गको स्थलगत निरीक्षणमा आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडक निर्माणमा चिनियाँ ठेकेदारको लापरबाही टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका थिए ।