२०८१ श्रावण १, मंगलबार
नयाँ
पछिला अपडेट

शरिर बिज्ञान : किन लाग्छ निन्द्रा ?

२०८१ जेष्ठ ३१, बिहिबार प्रकाशित ( महिना अघि) ५३४ पाठक संख्या

मनिषा थापा

काठमाडौं । तपाईं कति घण्टासम्म जाग्राम रहनुहुन्छ रु वा कति दिनसम्म निरन्तर ननिदाई काम गरिरहन सक्नुहुन्छ ? सम्भवत यसको अभ्यास र अनुभव तपाईंसंग छैन । र, अभ्यास गर्न सायदै सकिएला ।

किनभने यो हाम्रो शरीरको आफ्नो प्रकृति विपरीत कुरा हो । घडीको सुईले हरेक दुई फन्को लगाउँदा हाम्रो शरीर ७,८ घण्टा निन्द्रामा हुन्छ । अर्थात हामी सक्रिय र जाग्राम अवस्थामा हुँदैनौं । आखिर किन यस्तो हुन्छ रु किन हामीलाई निन्द्रा लाग्छ ?

त्रिवि शिक्षण अस्पतालको मनोरोग विभागका प्रमुख प्रा डा सरोजप्रसाद ओझा भन्छन ‘मानव शरीर २४ सै घण्टा अविछिन्न तवरमा जाग्राम रहन सक्दैन । निरन्तर शरीर चलायमान अवस्थामा हुँदा मानसिक तथा शारीरिक गतिविधि भइरहेको हुन्छ । यो क्रममा रक्तसञ्चार पनि भइरहेको हुँदा केही अवधिपछि थाकिन्छ । ऊर्जाहरू कम हुन थाल्छन । शरीर शिथिल हुँदै आरामको लागि सूर्यास्त पछि स्नायु प्रणालीले निन्द्रा लगाउने रसायनहरूले आफ्नो असर देखाउन थाल्छन् । अनि निन्द्रा लाग्छ ।’

शरीरलाई ऊर्जा र शक्ति सञ्चयका लागि पनि निन्द्रा जरुरी हुन्छ । स्लिप फाउन्डेसन अर्गनाइजेसन डटकमका अनुसार स्वस्थ व्यक्ति १५ देखि २० मिनेटको अवधिमा निदाउँछन । यद्यपि, कोही यो भन्दा चाँडो र कोही सो समयभन्दा कम समयमै निदाउछन । तर यति अवधिमा निन्द्र लाग्न भन्ने कुनै ठोस जवाफ छैन ।

निदाएको बेला के हुन्छ ?

डा ओझाका अनुसार जब कोठाको बत्ती निभाएर आखा बन्द गरेर सुत्छौं, तब हाम्रो मस्तिष्कबाट अल्फा किरण निस्कन्छन जसले हामीलाई निन्द्रामा पुरयाउछन हामी चेत हुदै अर्धचेतन अवस्थामा पुग्छौं । यस अवधिमा हाम्रो मस्तिष्क बाहिरी संसारबाट अलग हुन्छौं ।

निन्द्र लागेको समयमा किन हामी अचेत झैं हुन्छौं ?

डा ओझाका अनुसार मानिस निन्द्रमा छ भने ४ देखि ६ चक्र हुन्छ । यो क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ ।

करिब ९० मिनेटको एउटा निन्द्राको चक्र हुन्छ, जसमा ७५ मिनेटको चक्र गहिरो हुन्छ । यसलाई नन र्‍यापिड मुभमेन्ट पनि भनिन्छ ।

त्यसक्रममा अंगहरु सुस्त हुने कारण हामी अचेत जस्तै हुन्छौं, जसकारण सपना देखे पनि याद गर्न नसक्ने प्रा डा ओझा बताउछन ।

मानिस कति समयसम्म बाच्न सक्छ भने कुनै स्पष्ट तथ्य बाहिरिएको छैन । रातमा तीनदेखि चार दिनसम्म सुतेन भने दिमागले भ्रमलाई सत्य ठान्न थाल्छ । र, सुताइको सन्तुलन बिग्रिने पाटनस्थित मानसिक अस्पतालका मनोचिकित्सक डा सुरेश अधिकारी बताउछन ।

त्यसो भए रातमै कसरी निन्द्रा लाग्छ त ?

डा ओझाका अनुसार जब सूर्यास्त हुन्छ, मस्तिष्कमा मेलाटोनिन नामक स्वस्थ हर्मोन निस्कन थाल्छ । सो हर्मोन अँध्यारो कोठामा राति मात्र उत्पन्न हुन्छ । जसकारण रातको समयमा नै हामीलाई निन्द्रा लाग्छ ।

‘बिहान सूर्योदयको उज्यालोसँगै मेलाटोनिन रसायनले असर देखाउन बन्द गर्छ र  सेरोटोनिन निस्कन थाल्छ । जसले गर्दा हाम्रो निन्द्रा खुल्छ,’ डा ओझा भन्छन ।

निन्द्रा विना मान्छे बाच्न सक्दैन ?

रातमा लगातार नसुती लगातार २६५ घण्टा ९११ दिन सम्म बसेको लामो रेकर्ड छ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अध्ययनअनुसार सो रेकर्ड सन १९६४ मा १७ वर्षीय र्‍यान्डी ग्रान्सनले राखेका थिए । जसले गर्दा उनको नाम विश्व कीर्तिमान रेकर्ड त भयो । तर लामो समयसम्म अनिन्द्राले गर्दा एकाग्रता र अन्य मानसिक समस्या देखापरो ।

निदाएको बेलामा पाचन प्रणालीले के काम गर्छ ?

निजामती अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा विधाननिधि पौडेलका अनुसार पाचन प्रणाली रातको समयमा पनि काम गर्छ । तर सुस्त गतिमा काम गर्छ ।

यो समयमा हामीले खाइएको खानाबाट बनेको ग्लुकोज तथा प्रोटिनको सदुपयोग गरी पाचन तन्तु मर्मत हुने र विकास हुने काम हुन्छ । ताकि अर्को दिन पाचनको लागि ऊर्जाशील रहोस ।

निदाएको बेलामा रोग निको पार्ने हर्मोन निस्कन्छ’

अमेरिकन हार्ट फाउन्डेसनका अनुसार निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ । निन्द्रा पुगेन भने तिनमा असर पर्छ ।

निन्द्रा गहिरो हदा मांसपेशीहरूमा रक्त प्रवाह बढ्छ । यो क्रममा विभिन्न ग्रन्थीबाट हर्मोन निस्केर रगतको माध्यमबाट एकै आसनमा सुतिरहेको शरीरका सबै भागमा पुग्छ ।

रगत तथा कोषिकाले हर्मोन, प्रोटिनसँगै अक्सिजन र पोषक तत्व बोक्ने भएकाले मांसपेशीमा भएको दुखाइ, चोट र सुन्निएको निको पार्छ । कोषिकाहरू रगतको बढ्दो प्रवाहले पुनः बन्ने र मर्मत हुन्छन

रातमा पनि शरीरभित्र काम हुन्छ स्लिप हार्ट फाउण्डेसन

– दिमागले विषाक्त तत्व पहिचान गरी हटाउने समय पाउछ ।

– स्नायुकोषहरु एकापसमा सञ्चार गरी दिमागको कार्यलाई स्वस्थ राख्न मद्दत पुग्छ ।

– कोष बन्ने, ऊर्जा भण्डारण र शरीरको समग्र स्वास्थ्यलाई फाइदा पुग्ने हर्मोन र प्रोटिन उत्पादन हुन्छ ।

– प्रतिरोध क्षमता विकास गर्ने रसायनको प्रतिक्रिया यही समयमा हुन्छ र आवश्यकअनुसार खपत हुन्छ ।

– निद्राले छोटो समयको बितेको सम्झनालाई दीर्घकालीनमा रूपान्तरण गरेर स्मरण शक्ति कायम गर्छ ।

– अनावश्यक जानकारी मेटाउन वा बिर्साउने काम यही समयमा हुन्छ । अनावश्यक सम्झना पनि रहेमा स्नायु प्रणालीलाई अव्यवस्थित हुनसक्छ ।

निन्द्रा किन कम लाग्छ ?

निन्द्रा नपर्ने वा कम पर्ने वा पूरा नहुने तीन कारण हुनसक्ने डा अनुपराज भण्डारी बताछन । पहिलो वातावरणीय कारण हुनसक्छ । आफू बसेको ठाउ वा वरपर धेरै होहल्ला छ, बिछ्यौना आफूले सोचेजस्तो सहज छैन भने मान्छेलाई राम्रोसँग निन्द्रा नपर्न सक्छ ।

दोस्रोमा, तनाव छ भने पनि निन्द्रा लाग्दैन । तेस्रोमा, शारीरिक रोग र बिमारीका कारण पनि निन्द्रा पर्दैन । त्यस्तै, रात्रिकालीन काम गर्नेहरु चाहेर पनि समय मा निदाउन सक्दैनन। जसकारण उनीहरुमा  प्रायः स्लिप डिसअर्डर अर्थात राम्रो निन्द्रा नलाग्ने समस्या देखिने उनी बताउछन ।

‘नर्स, डाक्टर, सुरक्षाकर्मी, जसको रात्रिकालीन पेसाका कारण उठ्नुपर्ने हुन्छ, उनीहरूलाई निन्द्राको समस्या पर्ने गरेको देखिन्छ,’ उनी भन्छन  ‘तर त्यस्तो निन्द्राको क्षतिपूर्ति पनि हुनसक्छ । आज एक रात ड्युटीमा खट्यो, अर्को दिन दिउसो र तेस्रो रात समयमै सुत्यो भने निन्द्राको क्षतिपूर्ति पुग्न सक्छ,’ डा भण्डारी भन्छन ।

निन्द्रा पर्याप्त नभए के हुन्छ ?

पर्याप्त निन्द्रा विना शरीरले राम्रोसँग काम गर्न गाह्रो हुन्छ । निन्द्राको कमीले मिर्गौला, रगत, मस्तिष्क र मानसिक स्वास्थ्यलाई असर गर्ने मानसिक अस्पतालका डा। वासुदेव कार्की बताउछन । उनका अनुसार निन्द्राको कमीले वयस्कमा गम्भीर कार दुर्घटना र मृत्यु समेत भएका घटना धेरै छन ।

त्यस्तै, वृद्धहरुमा निन्द्रा नपुग्दा ओछ्यानबाट लड्ने र हड्डीहरु भाँचिने समस्या बढ्न सक्छ । बिसिर्ने रोग जस्ता स्नायुसम्बन्धी समस्याले घेर्न सक्छ ।

अन्य देखिने समस्या

– मुड परिवर्तन

– अवसाद

– कमजोर स्मरण शक्ति

– कमजोर एकाग्रता

– थकान, कमजोर प्रतिरक्षा प्रणाली

– तौलमा वृद्धि

– दीर्घकालीन रोगहरू, जस्तै मधुमेह र ह्रदय रोग

– प्रारम्भिक मृत्युको जोखिम ।

कम सुत्ने व्यक्ति तुलनात्मकरुपमा चाडो मृत्यु हुने विभिन्न अध्ययनले समेत देखाएको छ । द गार्जियन जर्नलमा प्रकाशित एक अध्ययनअनुसार ६ घण्टाभन्दा कम सुत्ने व्यक्ति आठ घण्टा भन्दा बढी सुत्नेहरूको तुलनामा १२ प्रतिशत छिटो मृत्यु हुने देखाएको थियो ।

बेलायत र इटालीका शिक्षाविद्हरूले अमेरिका र एसियाभरका १६ छुट्टाछुट्टै अध्ययनबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरेका थिए, जसबाट सो निष्कर्ष निस्किएको हो । त्यस्तै, मृत्यु बाहेक विभिन्न स्वास्थ्य समस्या निद्राको अभावमा देखिन्छ ।

किन आठ घण्टा निदाउनु जरुरी छ ?

सामान्यतया ७ देखि ८ घण्टा निदाउनु राम्रो मानिन्छ । यद्यपि निदाउने समय यही नै हो भनेर किटान भइसकेको अवस्था छैन । मानिसको काम र शरीरको प्रकृतिअनुसार निद्राको समय पनि निर्धारित हुने चिकित्सकहरू बताउँछन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले २४ घण्टामा उमेरको आधारमा निन्द्रा अवधि सुझाएको छ ।

– जन्मेदेखि ३ महिनासम्म – १४ देखि १७ घण्टा

– ४ देखि १२ महिनासम्म – १२ देखि १६ घण्टा

– १ देखि २ वर्षसम्म – ११ देखि १४ घण्टा

– ३ देखि ५ वर्षसम्म – १० देखि १३ घण्टा

– ६ देखि १२ वर्षसम्म – ९ देखि १२ घण्टा

– १३ देखि १८ वर्षसम्म – ८ देखि १० घण्टा

– १८ देखि ६० वर्षसम्म – ७ घण्टा भन्दा बढी

– ६१ देखि ६५ वर्षसम्म – ७ देखि ८ घण्टा

– ६५ वर्षभन्दा माथि – ७ घण्टा

निन्द्राको सन्तुलन कायम राख्न सीडीसीले यस्तो सुझाव दिएको छ ।

– दैनिक ओछयानमा जाने र बिहान उठ्ने समय एकैनासको बनाउने ।

– कोठामा शान्त, आरामदायी र अनुकूल तापक्रम बनाउने ।

– विद्युतीय उपकरण, मोबाइल, ल्यापटप, बत्ती, टिभी सुत्ने समयभन्दा ३० मिनेट अघि बन्द गर्ने ।

– सुत्नुअघि पेटलाई भार पार्ने टन्न खानेकुरा नखाने र मदिरा नपिउने ।

– साँझ र रातमा क्याफिनयुक्त पेय नपिउने ।

– दिउसो नसुत्ने ।

– शरीरलाई ऊर्जावान र तौल सन्तुलनमा राख्न दैनिक व्यायाम गर्ने ।

निन्द्रा सम्बन्धी रोचक तथ्य र भ्रम

भ्रम सुत्नुअघि दूध पिउनु हुदैन ।

सुत्नुअघि तातो दूध पिउनाले राम्रो निन्द्रमा मद्दत गर्छ ।  धेरैले सुत्नुअघि दूध पिउने गर्छन भने कतिपयले दूध नपिउने सल्लाह दिन्छन । तर सुत्नुअघि तातो दूध पिउनाले राम्रो निन्द्रा लाग्ने चिकित्सक बताउछन ।

दूधमा ट्रिप्टोफान नामक तत्व हुन्छ, जसले व्यक्तिलाई सुत्न मद्दत गर्छ । ट्रिप्टोफानले मेलाटोनिन बढाउछ । यो हर्मोनले शरीरमा मुटुको चाललाई नियमन गर्छ र निन्द्रा पर्न मद्दत गर्छ । त्यसैले सुत्नुअघि एक गिलास तातो दूध पिउनु उपयुक्त हुन्छ ।

भ्रम निन्द्रा नआउँदा पनि ओछयानमा जबर्जस्ती आखा चिम्लिएर बस्नु उपयुक्त हुन्छ ।

– आखा बन्द गरेर मात्र निन्द्रा आउँदैन । निन्द्रा नलाग्ने अवस्थामा आखा बन्द राखेर मात्र निद लाग्दैन । २०, ३० मिनेटभन्दा बढी कोसिस गर्दा पनि निदाउन नसकेमा ओछ्यानबाट उठेर अन्य तरिकाले आराम गर्ने प्रयास गर्नुपर्छ ।
यसका लागि संगीत सुन्न सुनेर ध्यान केन्द्रित गर्ने प्रयास गर्न सकिन्छ । उज्यालो बत्तीले निन्द्रामा बाधा पुग्ने हुँदा बच्न विशेषगरी मोबाइल वा अन्य कुनै ग्याजेट प्रयोग बन्द गर्न सकिन्छ । कम प्रकाशमा कुनै पनि कुरा पढ्न सकिन्छ । यी गतिविधिपछि निन्द्रँ लागेमा ओछ्यानमा जान सकिन्छ ।

भ्रम आधा रातमा खानेकुरा खादा कुनै समस्या हुँदैन ।

– आधारातमा खानेकुरा नखाएको राम्रो हुन्छ । रातमा उठेर खाना खानु राम्रो संकेत होइन । सामान्यतया मध्यरातमा खाजा खाने बानी छ भने मधुमेह वा खाने विकारको संकेत हुनसक्छ ।

सामान्यतया राति १० बजेसम्म खाएको खानेकुरामा सन्तुष्ट हुनुपर्छ र मध्यरातमा उठेर फेरि खानु हुँदैन । यसले निन्द्राको ढाँचामा बाधा पुर्‍याउँछ र मोटोपन निम्त्याउँछ । यदि यो नियमित रूपमा भइरहेको छ भने ध्यान दिन आवश्यक छ ।

भ्रम बत्ती बालेर सुत्दा शरीरलाई हानी हुन्छ ।

– बत्ती बालेर सुत्दा केही असुविधा हुनसक्छ । उज्यालो नभएको अँध्यारो कोठा सुत्नका लागि उपयुक्त हुन्छ । सुत्ने बेलामा कोठामा बत्ती मधुरो राख्न सकिन्छ । प्रकाशले शरीरको ब्युझिने हर्मोनलाई सक्रिय बनाउछ, त्यसैले बत्ती बालेर सुत्न केही कठिनाइ हुनसक्छ । केही मानिसहरू यसलाई बानी पर्न सक्छन । बत्तीविना असुरक्षित महसुस गर्न सक्छन तर सुत्ने बेलामा मधुर बत्ती बाल्नुपर्ने चिकित्सकको सुझाव छ ।

भ्रम सुत्नुअघि पूरा खाना खानुहोस ।

एउटा भनाइ छ, बिहानको  खाजा राजाले जस्तै खाने र बेलुकीको खाना गरिबले जस्तै खाने गर्नुपर्छ । राम्रो निद लगाउन यो धेरै महत्त्वपूर्ण छ, किनकि कुनै पनि तेलयुक्त, वनस्पतियुक्त खानेकुरा स्वास्थ्यका लागि राम्रो भएपनि सुत्नुअघि खाइयो भने यसले ग्यास्ट्रिक र पेट फुल्ने समस्या निम्त्याउँछ, जसले राम्रो निन्द्रामा बाधा पुर्‍याउँछ ।

भ्रम  सुत्ने कोठामा न्यानो तापक्रम निदको लागि राम्रो हुन्छ ।

– न्यानो तापक्रमले निदाउन मद्दत गर्दैन । कुनै पनि व्यक्ति सुत्ने कोठाको तापक्रम घरबाहिरको तापक्रमभन्दा अलिकति चिसो हुनुपर्छ । जसले राम्रोसँग सुत्न मद्दत गर्छ । साथै राम्रो निन्द्राका लागि सरसफाइ पनि महत्त्वपूर्ण हुन्छ ।

भ्रम  सुत्नुअघि रक्सी पिउनाले राम्रो निद पर्छ ।

– सुत्नुअघि रक्सी पिउनाले निद्रामा समस्या हुन्छ । रक्सीले सुरुमा शरीरमा निद  लाग्न सक्छ । त्यसको केही क्षणमा स्नायुलाई उत्तेजक पार्छ र मानिसलाई राम्रो निन्द्रा पाउन गाह्रो बनाउन सक्छ ।

जो धेरै पिएपछि सुत्न जान्छ, ऊ कहिल्यै ताजा भएर उठ्दैन । यसको कारण रक्सीले शरीरलाई सुस्त बनाउछ र जागर गुमाउँछ । अनलाइन खबरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस