२०८१ जेष्ठ ३१, बिहिबार
नयाँ
पछिला अपडेट

मानव महत्त्वाकाङ्क्षा र वातावरण दिवस

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित ( हफ्ता अघि) १०० पाठक संख्या

डा.मित्र पाठक

काठमाडौं । एक हप्ता अगाडि कसैको फोन आयो । अनुरोध थियो । ‘लौ न सर हाम्रो कार्यक्रममा आएर वातावरणको बारेमा थोरै बोल्दिनुपर्‍यो ।’

मैले हाँसेर जवाफ फर्काएँ ‘एक त मेरो दख्खलको विषय हैन यो, अर्को के बोल्नु छ र १ आज भोलि मैले बोल्ने जति त सामाजिक सञ्जालबाट थाहा पाइसकेका छन् मानिसहरूले।’ ‘जे भए नि तपाईंहरू बोल्दा थप प्रभाव पर्छ नि सर ’
हुन्छ त्यसो हो भने म बोल्छु पनि र केही लेख्छु पनि किनकि सामान्य कुरा नै सही, दुई–चार कुरा खोजेरै भए पनि बाँड्नुपर्छ यो उत्सवमा १ दुई तीन दिन मलाई अपडेट हुने मौका दिनुहोस्। किनकि हामी धेरै बोल्नरलेख्न र काम कम गर्नै जन्मेका हौं जस्तो लाग्छ। त्यसमा पनि म त कम्तीमा विज्ञानको शिकारु विद्यार्थी त हुँ । ’

जवाफमा चर्को हाँसो पठाउनुभयो उताबाट। त्यसपछि फुरेको शीर्षक हो– ‘मानव महत्त्वाकाङ्क्षा र वातावरण दिवस।

शायद मानव जातिकै कमजोरी होला यो ‘कुन्नि के गर्ने बेलामा के खोज्ने’ जब–जब दिवस आउँछन् हाम्रा तयारी तीव्र हुन्छन्, सक्रियता अरू बढ्छ हाम्रो तर त्यो बीचमा गर्नुपर्ने कर्तव्य, अपनाउनुपर्ने सजगता र खेल्नुपर्ने भूमिकामा हामी सधैं चुकिरहन्छौं। जे भए पनि वर्षको एक पटक मानिस जातिलाई पुनस् ताजा ( रिकल ) गराउनै पर्छ यो विषय। नत्र पोहोर साल टिपेपछि असरल्ल भएका टोल बजारका प्लास्टिक पनि नटिपिने डर छ। र पनि कर्मकाण्डी नै सही हामीले बिर्सनुहुँदैन कि यो दिवस विश्वभरका मानिसहरूसँग एकताबद्ध हुने र वर्तमान र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्न संकल्प गर्ने दिन पनि हो।

बढ्दै गएका मानव जातिको असीमित महत्त्वाकाङ्क्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौती बनेको छ। यी चुनौतीबाट नेपाल पनि अछुतो रहने कुरै भएन।

हाम्रो हिमाली भेग, उच्च पहाड, चुरे र तराईका फाँटहरूसम्म जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको छ । त्यसमध्ये पनि प्रत्यक्ष असर हिमाली क्षेत्रमा देखिइसकेको छ।

सेता हिमाललाई नाम फेर्नुपर्ने बाध्यता बनेको छ काला भएर। नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्दछन्। रैथाने दुर्लभ र संकटासन्न जीवजन्तु र बिरुवाको अनुकूलताका लागि वासस्थान परिवर्तन प्रयास र नसकेको खण्डमा लोप हुनु परेको छ जुन विषय न्यून अध्ययनको विषय बनेर बसेको छ। अर्कोतर्फ वन-जङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदि जस्ता क्रियाकलापहरूले पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइड जस्ता हरित गृह ग्याँस र ओजन तह विनाश गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्याँसको उत्सर्जन दिनप्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ।

३विश्वमा भइरहेको वातावरण विनाशको लागि हाम्रो योगदान नगण्य भए पनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषय र गरेका प्रतिबद्धताहरूलाई देशानुकूल कार्यान्वयन गर्नु आजको अपरिहार्यता हो ।

परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदैछ। अति वृष्टि, अनावृष्टि भोगिंदैछ। आगलागी र डढेलोका घटना अरू बढ्ने क्रममा छन्। केमिकल र पेस्टिसाइडले माटो जीर्ण हुँदैछ। क्यान्सर पाहुना बन्ने चाहना राख्दैछ हाम्रा घरहरूमा। थप नयाँ रोग र प्रकोपको शिकार हुँदैछौं हामी। प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको अर्को एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ। अघिल्लो वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको विश्व वातावरण दिवस यो वर्ष ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाइरहेका छौं। माटोलाई माया गरौं र माटोको स्वास्थ्यलाई विशेष ध्यान दिने कुरामा जोड छ यो वर्ष।

यो अवसरमा हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ। यति पनि गरिएन भने दिवस कसरी मनाइयो र १

दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रूपमा सम्बोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले पनि गरेको छ। विकासलाई वातावरणमैत्री बनाउन आवश्यक थियो जो अझै हुनसकिरहेको छैन।

हाम्रा पुर्खाले सयौं वर्षको मिहिनेतले हुर्काएका बाटो छेउका बर-पीपलका रूखहरू विभिन्न अस्त्र प्रयोग गरी कुनै विकल्पै नखोजी विदेशी सरंक्षणका अभ्यास र स्थानीय प्रविधिलाई समेत बेवास्ता गरी गरिएका डोजरे विकास यसको भर्भराउँदो उदाहरण हो। संसारमा कहीं कतै पाप–धर्म छ भने त्यो पापको भारी त्यस्ता दीर्घकालीन असर हुने विषयमा निर्णय गर्ने हामीले अवश्य भोग्नुपर्ने हुन्छ तसर्थ निर्णय गर्दा क्षणिक लाभका विषय हेर्ने भन्दा पनि वास्तवमै विवेकी बनौं।

वातावरण संरक्षण तथा सुधारको लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वनको क्षेत्रफल बढाए, वृक्षरोपण प्रशस्त गराए, वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका पनि खेले। यो सराहनीय विषय हो तर आम गुनासो यो छ कि हाम्रा शहर इँटा र सिमेन्टको थुप्रो बने।

हाम्रा घर इँटा, सिमेन्ट, फलाम र आल्मुनियमका हट ओभन बने अनि कार्बन सञ्चित गर्ने र शीतलता दिने हाम्रा काठ भने जंगलमै कुहिइरहे ९रिपोर्टहरूका अनुसार संसारभरिको तथ्याङ्क हेरियो भने कुहिएका काठले प्रत्येक वर्ष झन्डै एघार गिगा टन कार्बन उत्सर्जन गर्छन्०। नेपालमा पनि काठ सदुपयोगको विषय अब निर्मम समीक्षाको विषय बनिनुपर्छ जस्तो लाग्छ।

यसको अलावा आम कृषक र जनतालाई जलवायु परिवर्तन र वातावरणमा देखिएका यावत् समस्याका विषयमा थप सुसज्जित बनाउँदै तथा वन तथा वातावरण, कृषि तथा पशुपक्षी मन्त्रालय एवं अन्य विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूबाट संचालित वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न कार्यक्रम, जलवायुमैत्री कृषि प्रणालीका विभिन्न उपाय अपनाउने, जलवायु परिवर्तनबाट सिर्जित प्रतिकूल प्रभावबाट अनुकूलित हुनका लागि चाहिने तत्कालीन र अत्यावश्यक राष्ट्रिय कार्यक्रम ( नापा ) , तत्कालीन र अत्यावश्यक अनुकूलन कार्यक्रमको छिटो, छरितो र प्रभावकारी कार्यान्वयन गर्न आवश्यक स्थानीय अनुकूलन कार्ययोजना ( लापा ) जस्ता देशका कुना–कुना प्रभावकारी देखिएका कार्यक्रमहरूलाई स्थानीयहरूसँग जोडी केही हदसम्म भए पनि इकोसिस्टम बेस एडप्टेसनका विषयमा जानकार बनाउनु, व्यावहारिक ज्ञान सिकाउनु र राहत दिलाउनु हामी अलि–अलि जान्ने बुझ्नेहरूको कर्तव्य हुन आउँछ।

विश्वमा भइरहेको वातावरण विनाशको लागि हाम्रो योगदान नगण्य भए पनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषय र गरेका प्रतिबद्धताहरूलाई देशानुकूल कार्यान्वयन गर्नु भने आजको अपरिहार्यता हो।

अन्त्यमा, वातावरणको संरक्षण तथा सम्वर्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निकायहरू, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, विकास साझेदार संस्थाहरू एवं हामी सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने हुँदा वातावरण संरक्षण सचेतना र विकास निर्माणमा पनि सबैको अर्थपूर्ण भूमिका, चासो एवं खबरदारी रहोस् भन्दै यो वर्षको वातावरण दिवसको भव्य शुभकामना । आजको अनलाइन खबरबाट साभार गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस