२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा रहेको छिपछिपे सहकारीमा १० करोड हिनामिना

२०८० चैत्र २३, शुक्रबार प्रकाशित ( हफ्ता अघि) ३३६ पाठक संख्या

नारायण शर्मा 

पूर्वी नवलपरासी —कावासोतीको फिल्महल चोकमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १० करोड बचत हिनामिना भएको आशंकामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले छानबिन थालेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो ।

०७२ देखि ०७९ सम्म एउटै व्यक्ति सहकारीको अध्यक्ष र व्यवस्थापक भएर बचत हिनामिना गरेको छानबिनका क्रममा देखिएको छ । बर्दिया घर भएका सहकारीका तत्कालीन अध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डेले सहकारीको

रकम मिटरब्याजमा समेत लगानी गरेको आशंकामा अनुसन्धान भइरहेको छ । गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै पैसा झिकेर मिटरब्याजमा लगाएको तथा बिनाधितो आफू र नजिकका व्यक्तिलाई कर्जा प्रवाह गरेकोसमेत छानबिनका क्रममा देखिएको बताए । ‘यही चैत मसान्तसम्म हिसाब मिलाउन भनेर जिम्मा लगाएका छौं, कति रकम मिटरब्याजमा लगाएका छन् त्यसपछि खुल्छ,’ रिजालले भने ।

पाण्डेले चितवनको एउटा सहकारी संस्थामा करिब १ करोड र बर्दियाको सहकारीमा करिब ९० लाख रुपैयाँ रकमान्तर गरेको पाइएको पनि उनले बताए । ‘अन्तरसहकारी रकम हस्तान्तरण गर्न त पाइन्छ तर कुन उद्देश्यले गरिएको हो भनेर अनुसन्धान भइरहेको छ,’ रिजालले भने । पाण्डेले अहिले कावासोती–२ पञ्चकन्या चोकमा घर बनाएर बसोबास गरेका छन् । व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर ०७९ पुसमा सहकारीबाट आफैंले ३२ लाख रुपैयाँ ऋण लिएका थिए ।

सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्री गरिसकेको जानकारी दिए । एउटै व्यक्ति सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापक रहेर तालुकदार निकायमा वर्षौंसम्म हिसाब पेस नगर्दासमेत संस्थाको निगरानी गर्ने प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय बेखबर रहेको बचतकर्ताको आरोप छ ।

पाण्डेले आफैं सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने ( सानीआमाकी छोरी ) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माले जानकारी दिए ।त्यसको एक महिनापछि ऋण लिँदा धितो राखेको जग्गा आफैंले नक्कली कागजात बनाएर फुकुवा गरिसकेको देखिन्छ । उनले मालपोत कार्यालयबाट आफ्नो जग्गा फुकुवा गराए पनि कर्जा भने तिरेका छैनन् । ‘व्यवस्थापक र अध्यक्ष रहेका पाण्डे एक्लैले ४र५ करोड आफन्तलाई बिनाधितो ऋण दिएको देखिन्छ,’ अध्यक्ष शर्माले भने, ‘कावासोती–४ निवासी क्रसर व्यवसायी माधव डुम्रे र शिव लामिछानेलाई बिनाधितो ७५र७५ लाख कर्जा दिएका छन् । उनीहरू दुवैको गरेर करिब २ करोड ४३ लाख असुली हुनुपर्ने देखिन्छ । त्यत्रो रकम बिनाधितो ऋण लगानी गरेका रहेछन् ।’ उनीहरू दुवै जनालाई ०७७ मा ऋण दिइएको अध्यक्ष शर्माले बताए ।

सहकारी रजिस्ट्रार कार्यालय प्रमुख रिजालले छिपछिपे सहकारीमा सामान्य बचतकर्ताको रकमसमेत फिर्ता नभएको निवेदन परेपछि सहकारी विश्लेषक निर्मल गौतमको संयोजकत्वमा छानबिन गरेको हो । सहकारीमा टेम्पो चालक, दूध बिक्री गर्ने कृषक, रिक्सा चालक, निर्वाहमुखी जीवनयापनका लागि ससानो खुद्रा पसल थापेकाहरूले दैनिक, साप्ताहिक र मासिक बचत गर्दै आएका थिए । रकम फिर्ता नपाएपछि बचतकर्ता दिनहुँ प्रहरी, वडा, जिल्ला प्रशासन कार्यालय र नगरपालिका कार्यालय धाउन थालेका छन् ।

शर्मा डेढ वर्षअघि सहकारीको अध्यक्ष भएका थिए । रकम अपचलन भएको र सहकारी डुबेको देखेपछि आफूले २०८० जेठमा जिल्ला प्रहरीमा कारबाही र छानबिनको निवेदन दिँदासमेत बेवास्ता भएको अध्यक्ष शर्माले बताए । आफू अध्यक्ष भएपछि संस्थाको हिसाब किताब खोज्दा नदिएपछि छानबिनका लागि निवेदन दिएको शर्माको दाबी छ । यो सहकारीमा सेयर सदस्य र बचतकर्तासमेत गरेर २ हजार ३ सय ९३ जना आबद्ध छन् । बढी ब्याज पाउने आसमा यहाँका धेरैजसो व्यापारीले समेत बचत जम्मा गरेको पाइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%

प्रतिक्रिया दिनुहोस