२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा मध्यविन्दु नगरपालिकाको सार्वजनिक सुनुवाई

२०८० फागुन २१, सोमबार प्रकाशित ( महिना अघि) ३४८ पाठक संख्या

कोल्हुवा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका उत्कृष्ट बनेकोमा नगरबासीले नगरपालिकालाई बधाई सहित धन्यवाद व्यक्त गरेका छन् ।

सोमबार मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय बद्रीनाथ नेपाल सहित बोल्ने सहभागीहरुले गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका वित्तीय सुशासन मुल्यांकनमा उत्कृष्ट बन्नु सबै नगरबासीको गैरवको विषय भएको बताउनुभयो ।

कोल्हुवा क्षेत्रमा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेकोमा मध्यविन्दु नगरपालिकाको कार्यालयलाई धन्यवाद मात्रै व्यक्त गरेनन् सहभागीले नगरप्रमुख भमिलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती लगायतसंग आफ्ना प्रश्न र सुझावहरु राखे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती चालु आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो चौमासिकको फागुन १५ गते सम्मको प्रगति समिक्षा तथा खर्चको सार्वजनिकीकरण गर्नुभयो । घर्तीले प्रस्तुत गर्नु भएको प्रगति समिक्षाबारे प्रश्न गर्दै सहभागी सुवासचन्द्र नेपाल, बेद प्रसाद भण्डारीले पुँजीगत तर्फ जम्मा २२ प्रतिशत मात्रै खर्च हुन निराशजनक रहेको भन्दै पुँजीगत खर्च बृद्धिको लागि नगरपालिकाको योजना के छ भन्ने प्रश्न गर्नुभयो । सार्वजनिक सुनुवाई सहभागीहरु नेत्र भण्डारी, याम नारायण चौधरी, शिवजी थापा लगायतले आलोक चक्रथप, खानेपानी व्यवस्थापन, फोहर संकलन, हरित नगर, दाहासंस्कार स्थल, नगर चक्रपथ, राशायनिक मल, अनुदानको बिउ, खेलकुद प्रतियोगता, स्वास्थ्य चौकीबाट उपलब्ध हुने निशुल्क औषधी, टोल बिकास संस्थाको संस्थागत विकासका बारे प्रश्न गरेका थिए ।

429839456_1625302871544268_5192749608682216545_n

सहभागीको प्रश्न माथि नगर प्रमुख भिमलाल अधिकारी र प्रमुख प्रशासकीय अधिकृत घर्तीले जवाफ दिनुभयो । आलोक चक्रपथ निर्माणको लागि नगरप्रमुखको रुपमा रहदा र सो भन्दा पूर्व देखि नै नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै नगर प्रमुख अधिकारीले केन्द्र र प्रदेश सरकारसंग आलोक चक्रपथका विषयमा विभिन्न समयमा छलफल र डलिकेशन भइरहेको बताउनुभयो । उहाँले आलोक चक्रपथ निर्माणलाई प्रभावकारी रुपमा अगाडी बढाउन हुप्सेकोट गाउँपालिकाको समेत समन्वयमा बजेट कार्यान्वयनमा पहल भइरहेको बताउनुभयो ।

पुँजीगत खर्च बृद्धिका लागि बहुवर्षिय योजना निर्माण र समयमा नै कार्यान्वयन गर्न तर्फ नगर अग्रसर रहेको स्मरण गर्दै उहाँले प्रक्षेपण गरे अनुसारको राजश्व संकलन र समानिकरण अनुदानमा कटौती लगायतको कारण पनि पुँजीगत खर्च कमी भएको बताउनुभयो ।

उहाँले हाल योजनाहरु कार्यान्वयनको अवस्थामा रहेको भन्दै भौतिक प्रगति उल्लेखनिय भएपनि वित्तीय प्रगति कम देखिएको बताउनुभयो । उहाँले मध्यविन्दु २ र ३ को विभिन्न स्थानमा शव दाहास्थल निर्माणको लागि अध्ययन भइरहेको भन्दै शवदाहा स्थललाई राजनितिक रंग नदिन र सबै जिम्मेवार बनेर निकास खोज्न समेत राजनितिक दलहरुलाई अनुरोध गर्नुभयो ।

431183849_1070214177606266_54730876602460296_n

नगरपालिकाले शव दाहास्थल व्यवस्थापनसंगै नगरको तर्फबाट शव वाहन खरिद गरेर सेवा प्रदान गर्ने योजना अगाडी बढाएको बताउनुभयो । नगरभित्र एम्बुलेन्स व्यवस्थापनको लागि खरिद प्रक्रिया अन्तिम चरणमा भएको भन्दै उहाँले कतिपय विषय प्रक्रियागत व्यवस्थाको कारण चाहादा चाहादै पनि तत्काल सम्बोधन गर्न असमर्थ रहेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाका हाम्रो खुशी पाठ्यक्रम निर्माण, फोहर व्यवस्थापन कार्यक्रममा नवप्रवद्र्धन कार्यक्रमको रुपमा अगाडी बढाएको स्मरण गर्दै त्यसलाई सही कार्यान्वयनको लागि स्वयम् जतनाहरु पनि जागृत हुनुपर्ने बताउनुभयो । अनुदानको बिउमा देखिएको समस्याको बारेमा नगरपालिका गम्भीर रहेको भन्दै उहाँले समस्याबारे जानकार हुन साथ सम्बन्धी सप्लायर्सलाई बोलाउने र बिउ फिर्ता लैजाने काम भएको भन्दै उहाँले बिउको कारण मकै नउर्मिदा कृषकलाई भएको क्षतिको क्षतीपूर्ती समेत भराउने तर्फ नगरले सम्बन्धीत पक्षलाई समन्वय गरिरहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले सबै पक्षको सहयोगबाट मध्यविन्दु नगरपालिकाका एफआरएमा प्रदेशको उत्कृष्ट बन्न सफल भएको भन्दै आगामी दिनलाई नगरलाई हरेक दृष्टिकोणबाट उत्कृष्ट बनाउन अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो ।

431181216_313610214677879_5106332178968635560_n

प्रशासनिक तर्फ उठेका सवालहरुको सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले हाल सम्म नगरपालिकामा ६८ प्रतिशत योजनाहरु सम्झौता भई कार्यान्वयनमा रहेको भन्दै पुँजीगत खर्च भुक्तानी लगत्तै बढ्ने बताउनुभयो । उहाँले वित्तीय सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तर्फ नगरपालिका अग्रसर रहेको बताउनु भएको थियो । जनशक्ति व्यवस्थापनलाई व्यवस्थित बनाउन यस पटक नगरपालिका भित्रको २० वटा दरबन्दी कम गरेको समेत उहाँले जानकारी दिनुभयो ।

429299755_1139298010848279_4221784455155689409_n

मध्यविन्दु नगरपालिकाले चालु आर्थिक वर्षमा यस अगाडी अरुणखोलामा सार्वजनिक सुनुवाई गरेको थियो । नगरपालिकाको सबै क्षेत्रमा सेवाप्रवाह बारे जानकारी र गुनासोको सुनुवाई गर्न सार्वजनिक सुनुवाईलाई विकेन्द्रीकरण गरेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं: २ का वडा अध्यक्ष रामभक्त अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस