२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कफी खेतीमा कृषकको आकर्षण बढ्दो

२०८० माघ १७, बुधबार प्रकाशित ( महिना अघि) ३९० पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको पहाडी भेगका गाउँमा कफी खेती गर्ने किसानहरू बढ्दै गएको छ । सामान्य कफी खेतीबाट सुरु गरेका किसानले अहिले भने व्यावसायिक रूपमा सुरु गर्न थालेका छन् । यसको उत्पादन समेत राम्रो हुँदै गएकोले किसान कफी खेती तर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको उनीहरू बताउँछन् ।

जिल्लाको पहाडी हुप्सेकोट गाउँपालिका ,बुलिगंटार गाउँपालिकाको डाडाँझेरी, कोटथर,जौबारी र बौदीकाली गाउँपालिकाको नरम, रुचागं, बबक, धौबादी लगायतका गाउँहरूमा अहिले किसानहरू कफी खेतीतर्फ आकर्षित हुन थालेको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिङ रानामगरले बताउनुभयो ।

बौदिकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफी खेती गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा आफ्नै पाखा पखेरामा करिब तीन सय कफीका बिरुवा लगाउनुभएका गुरुङले राम्रो आम्दानी गरेको बताउनुहुन्छ । पहाडी क्षेत्रमा विगतकामा भन्दा यो वर्ष कफी खेती राम्रो रहेको र कृषकहरू यो खेतीबाट सन्तुष्ट भएको उहाँको भनाइ छ ।

हुप्सेकोट गाउँपालिकाकी तुलीसरा रानामगरले दुई सय कफीका बिरुवा सहित कफी खेती गर्नुभएको छ । पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट कृषकले मनग्ये आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । नवलपुर जिल्लामा ११ हेक्टरमा व्यावसायिक कफी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जहाँ प्रतिहेक्टर ०।८ मेट्रिकटन उत्पादन हुने गरेको छ । करिब पाँच सय किसान यसमै आबद्ध छन् ।

कफी खेतीको लागि धेरै सम्भावना बोकेको यस जिल्लामा कफीको वैज्ञानिक, दिगो तथा व्यावसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न कावासोतीमा दुई दिने तालिम पनि सञ्चालन गरिएको छ । तालिमले सम्भावित किसानहरूलाई कफी सम्भावना र लाभबारे जानकारी दिई यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य राखेको छ । इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमका विज्ञ डा। बद्री बस्ताकोटीले नेपालमा कफीको सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताउँदै सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवर्द्धन गर्ने योजनाहरू अगाडि बढाएको बताउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत तथा प्रशिक्षक चन्द्र पुरीले कफी किसानका उचित चिन्तालाई सम्बोधन गरी उनीहरूको व्यवसाय विस्तारमा सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा नवलपुरको हुप्सेकोट, बौदिकालिका र बुलिङटार गाउँपालिका २२ जना कफी किसानको सहभागिता छ ।

नेपालमा करिब ४२ जिल्लामा करिब ३६५५ हेक्टरमा कफी खेती हुने गरेको छ । नेपालमा आर्थिक वर्ष २०७९÷८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले रु १३ करोड ४ लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात तथा रु ३२ करोड ५८ लाख ६६ हजार मूल्यवराबरको ४५० टन कफी आयात गरेको थियो ।  साभार : गोरखापत्र अनलाईन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस