२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

त्रिवेणी-दुम्कीबास सडकको काम चाँडै सुरु हुन्छ: मुख्यमन्त्री पाण्डे

२०८० माघ ६, शनिबार प्रकाशित ( महिना अघि) ४०० पाठक संख्या

नारायण शर्मा

कावासोती । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वी नवलपरासीको त्रिवेणीधामदेखि उत्तरमा रहेको दुम्कीबास जोड्ने सडक निर्माणको काम चाँडै सुरु हुने बताएका छन् ।

त्रिवेणीबाट दुम्कीबास जोड्ने २२ किलोमिटर सडक खण्डको काम चाँडै सुरु हुन्छ,उनले भने, यो सडक निर्माणका लागि चितवन राष्ट्रिय निकुन्ज र यूनेश्कोसँग प्रर्याप्त छलफल भएको छ । सडक खोल्न दिन ती निकाय सकारात्मक छन् ।

शुक्रबार त्रिवेणीमा त्रिवेणीधाम गजेन्द्रमोक्ष क्षेत्र बिकास समितिको प्रदेशस्तरीय कार्यालय उद्धघाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । दुम्कीबास र त्रिवेणीको बीचमा चितवन राष्ट्रिय निकुन्ज क्षेत्र पर्ने भएकाले सडक निर्माणमा निकुन्जले बन्यजन्तुलाई असर पर्ने कारण जनाउँदै सडक निर्माणको काम अघि बढाउन अवरोध गर्दै आएको छ ।

निकुन्जको असहमति हुँदा सडक निर्माणको काम अघि बढ्न सकेको छैन । शुक्रबार त्रिवेणी आएका मुख्यमन्त्री पाण्डेले चितवन निकुन्जका प्रतिनिधिलाई साथैमा ल्याएर छलफल गरेको सुनाए । वातवरणीय प्रभाव मुल्यांकनको काम अघि बढाउन निकुन्ज सहमत भएकाले काम अघि बढ्ने मुख्यमन्त्री पाण्डको भनाइ छ ।

यो सडक भारतसँग गण्डकी प्रदेशलाई जोड्ने एकमात्र नाका भएका कारण कुनै हालतमा पनि सडक निर्माण नरोकिने पाण्डले दाबी गरे । कृषि भूमिब्यबस्था तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले यो सडक प्रदेश सरकारकै गौरबको आयोजना भएकाले प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेर कानूनी व्यवधान हटाउन लागिरहेको बताए ।

त्रिवेणी नाका र उत्तरमा चीनसँग जोडिने कोरोला नाका आफ्नो सरकारको मुख्य प्राथामिकतामा रहेको बताए। त्रिवेणीबाट दुम्कीबास जोड्ने सडकको २२ किलोमिटर खण्डमध्ये ८ किलोमिटर सडक निर्माण क्षेत्र निकुन्जसँग जोडिएको छ ।

त्यस खण्डको १४ किलोमिटर सडक मुक्तिनाथ पिठाधीस स्वामीकमलनयनाचार्यको प्रयासमा १६ वर्ष अघि नै श्रमदानबाट खुलिसकेको छ । बाँकी रहको ८ किलो मिटर सडक निर्माणमा प्रदेश सरकारले हाल चासो बढाएको बिनयी-त्रिवेणी गाउँपालिकाका अध्यक्ष धनश्याम गिरीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस