२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा शुक्रबारदेखि खिचरा महोत्सव, तयारी पूरा 

२०८० पौष २६, बिहिबार प्रकाशित ( महिना अघि) २३९२ पाठक संख्या

नारायण शर्मा 

कावासोती । चितवन निकुन्ज नजिकमा रहेको पिप्रहर र चिलाहामा माघी मेला लाग्दैछ । स्थानीयको आयोजनामा कावासोतीको चिलाहामा शुक्रबारबाट ५ दिने खिचरा महोत्सव ( माघी मेला ) सुरु हुन लागेको हो । नयाँ वर्षको अवसरमा यहाँका थारु समुदायले खिचरा महोत्सव गर्ने भएका हुन् । महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

माघ १ गते थारु समुदायको नयाँ वर्षसमेत हो । थारु समुदायले आ-आफ्नो टोलमा माघी धुमधामसँग मनाउने चलन छ । खिचरा महोत्सवमा थारु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सुराम महतोले जानकारी दिए । खिचरा महोत्सव आउँदो मंगलबारसम्म संचालन हुने छ ।

त्यसैगरी कावासोती नगरपालिकासँग सिमाना जोडिएको देवचुली नगरपालिकाको पिप्रहरमा पनि माघि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । रजहरभन्दा दक्षिणमा पर्ने पिप्रहर गाउँमा आउँदो आइतबारदेखि मंगलबारसम्म माघी महोत्सव हुनेछ ।

पिप्रहर माघी महोत्सवका सचिव सोमनाथ महतोले स्थानीय उत्पादन र रैथाने खानाको प्रचार गर्न माघी मेला आयोजना गर्न लागेको जनाए । मेलामा थारु समुदायको लोकप्रिय खाना, चिचर, घोगी, माछा र गुन्द्रकका परिकार विशेष बनाइने छ ।

थारु समुदायको रैथाने खान्की र स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगोस् भनेर पनि महोत्सव, मेला आयोजना गरिएको सचिव सोमनाथले बताए ।

आयोजकका अनुसार खिचरा महोत्सवमा थारु समुदायका खाद्य परिकार, नारायणी नदीमा ढुंगा सयर, जंगल सफारी र टाइगर ट्रेल (बाघ हिँड्ने बाटोमा पर्यटकलाई पैदल हिँडाइने) कार्यक्रम राखिएको छ । पर्यटन व्यवसायी धनीराम गुरौका अनुसार ५ दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र खाद्य पदार्थ बिक्री गरेर पर्यटक आमन्त्रण गर्ने योजना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%९%३%१%

प्रतिक्रिया दिनुहोस