२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति कप प्रतियोगिता फागुन १० गतेदेखी

२०८० पौष २३, सोमबार प्रकाशित ( महिना अघि) ४५१ पाठक संख्या

नवलपुर । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ।

यसअघि पुस २६ देखि २८ गतेसम्म तय भए पनि जिल्लास्तरीय प्रतियोगिता निर्धारित समयमा पूरा हुन नसक्दा प्रतियोगिता फागुनमा सारिएको हो। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिताको समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले यो निर्णय गरेको हो।

प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिता पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारिएको सदस्य सचिव शर्माले बताए। ‘हामीले पुस १५ गतेसम्म जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएका थियौँ’ उनले भने, ‘बागलुङ, म्याग्दी, लमजुङ, र पर्वतमा समयमा प्रतियोगिता हुन सकेन। त्यसैका कारण हामीले फागुनमा गर्ने निधो गरेका हौँ।’

बैठकले नवलपुरका विभिन्न आठ वटा स्थानीय तहहरूबाट प्रतिबद्धता भएको रकम माघ १५ गते सम्म प्राप्त भएमा राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा नै आयोजना गर्ने निर्णय गरेको छ। स्थानीय तहहरूबाट  प्रतिबद्धता भएको ३० लाख प्राप्त नभएमा प्रतियोगिता कास्कीमा नै हुने छ।

यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि समेत संशोधन भएको, खेलाडी समेत थप भएका र समय समेत थप्नुपर्ने बाध्यता रहेकोले प्राप्त सशर्त अनुदानको रकम थप गर्न राष्ट्रिय खेलकुदसँग थप बजेट माग गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छ वटा खेलहरू आयोजना हुने गरेका छन्। प्रतियोगिता अन्तर्गत छात्र–छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराँते र तेक्वान्दो हुने छन्।

नवलपुरमा प्रतियोगिता आयोजनाका लागि परिषद्ले गठन गरेको अध्ययन समितिले एथलेटिक्स नवदुर्गा खेल मैदान कावासोती, भलिबल देवचुली, तेक्वान्दो गैँडाकोट, उसु र कबड्डी कावासोतीमा तथा कराँते मध्यविन्दुमा गर्ने गरी तय गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस