२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका युवा विदेशबाट फर्केर बाख्रा पालन गर्दै

२०८० पौष १६, सोमबार प्रकाशित ( महिना अघि) १०७६ पाठक संख्या

नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका–४ देउरालीका ३४ वर्षीय लक्ष्य आले मलेसियामा चार वर्ष, कतारमा तीन वर्ष ९ महिना गरी ७ वर्ष ९ महिना विदेशी भूमिमा पसिना बगाउनुभयो ।

विदेशको कमाइ पनि राम्रो थियो । चाडपर्वमा विशेषगरी तिहारको भाइटीकामा इष्टमित्र, आफन्त र परिवारले टीका र मालाले उहाँलाई कज्याइ राख्यो । त्यही सम्झनाले उहाँको मन कुँडियो ।

गाउँघरमा सबैले तिहारमा रमाइलो गर्दैगर्दा उहाँ बिहानै उठेर ड्युटी जानुपर्ने बाध्यता थियो । विदेशी साहुले नेपाली संस्कार र संस्कृति नबुझेकाले चाडपर्वमा बिदा माग्दा पनि नदिएपछि उहाँको मन बरालियो । त्यसपछि विदेश नगई गाउँमै सुरु गर्नुभयो बाख्रा पालन, अदुवा र अम्रिसो खेती ।

लक्ष्यजस्तै कथा सोही ठाउँका ३५ वर्षीय दलबहादुर आलेको पनि छ । पाँच वर्ष संयुक्त अरब इमिरेट्स ( युएई ) बसेर बिदामा आएका दलबहादुर बिदा सकिएपछि पनि विदेश फर्किनु भएन । युएईको राम्रो कमाइ छाडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्सायो ।

दैनिक बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दूरीको हु¥यान डाँडामा रहेको उहाँहरूको आफ्नै बाख्रा फर्ममा पुग्ने लक्ष्य र दलबहादुर आलेको दैनिकी यतिबेला कृषि कर्मले भरिएको छ । युएईमा वार्षिक ३ लाखभन्दा बढी नेपाली रुपियाँ कमाउने दलबहादुरले गाउँ फर्किएसँगै बाख्रा मात्र पाल्नु भएन । आफ्नै ७ रोपनी जमिनमा अदुवा लगाउनुभयो, पाखामा अम्रिसो रोप्नुभयो अनि केही बोट सुन्तला हुर्काउनुभयो ।

बिस्तारै बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि लक्ष्य र दलबहादुरले विदेश बिर्सिनुभयो । उहाँहरूले विदेश मात्र बिर्सिनु भएन, परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मिठो आत्मसन्तुष्टि मिलेको छ ।

‘विदेशमा लाखौं रुपियाँ कमाए पनि स्वदेशमा आफ्नै परिवारसँगको बसाइ मिठो हुने रहेछ, लक्ष्यले भन्नुभयो, ‘विदेशको लाखलाई स्वदेशको हजारले जित्दोरहेछ, जव आत्मसन्तुष्टि मिल्छ । त्यही आत्मसन्तुष्टि र आत्मसम्मानका लागि फेरि फर्केर विदेश जान मन लागेन ।’

अहिले उहाँको फर्ममा ७० भन्दा धेरै बाख्रा पुगेका छन् । परिवारसँगै बसेर बाख्रा पालन, अदुवा खेती र अम्रिसोबाट भएको आम्दानीले उहाँको मन खुसी भएको छ । ‘७ वर्ष ९ महिना विदेशमा धेरै हण्डर खाएँ, वर्षको २ लाख कमाउन पनि मुस्किल थियो । अहिले परिवारसँगै बसेर वर्षमा ३ देखि ३ लाख ५० हजारसम्म आम्दानी भएको छ, उहाँले भन्नुभयो ।

देउराली बाख्रा फर्म दर्ता गरेर काम सुरु गरेका दलबहादुरले सुरु गरेको व्यावसायिक बाख्रा पालनबाट खोरमा ७५ वटा बाख्रा भएका छन् । बाख्राबाट वार्षिक १ लाख ५० हजार आम्दानी हुदैँआएको र फर्मलाई अझै बिस्तार गर्ने सोच रहेको उहाँले सुनाउनुभयो । त्यस्तै, अदुवा र  अम्रिसोबाट वार्षिक एक लाखदेखि एक लाख ५० हजारको हाराहारीमा आम्दानी हुनेगरेको उहाँको भनाइ छ ।

बाख्रा फर्ममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उहाँहरुले बताउनुभयो । यातायातको सुविधा भएका कारण बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारीहरु गाउँमै पुग्नेगरेको बुलिङटार ४ का वडाध्यक्ष मिनबहादुर आलेले बताउनुभयो । देउरालीका प्राय सबै घरबाट एकजना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषि कर्म अरु युवाका लागि उदाहरणीय बनेको वडा अध्यक्ष आलेको भनाइ छ । यो समाचार गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%

प्रतिक्रिया दिनुहोस