२०८१ बैशाख २५, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणगढ–बुटवल सडकमा रास्वपाको दवाव यात्रा प्रारम्भ

२०८० पौष ९, सोमबार प्रकाशित ( महिना अघि) ६६० पाठक संख्या

गैँडाकोट – नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमवार बिहानदेखि दवाव यात्रा थालेको छ ।

दवाव यात्रा प्रारम्भ हुनुअघि रास्वपाका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेर यात्राको बारेमा जानकारी गराइरहेका छन् । लामिछानेले तीन दिनमा पैदल यात्रा गरेर बुटबल पुग्ने बताएका छन् ।

सभापति लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दवावस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन् ।

नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिँडेर पुरा गर्ने रास्वपाको तयारी छ ।

सभापति लामिछानेले भनेका छन्– ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको बिलम्ब र अहिले यात्राका क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य हो । यात्रामा मलाई पार्टीका नेतागण र सांसदहरूले पनि साथ दिँदै हुनुहुन्छ ।’

लामिछानेले यात्राका क्रममा दायाँ–बायाँ बस्ती छिरेर भेला गर्ने र कार्यक्रमहरू गर्ने समय अभाव भएको बताएका छन् ।

‘सबैका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो । तर, यात्राको दिन लम्बिने भएकाले यसपटक त्यसका लागि समय छुट्याउन असमर्थ भएको छु,’ लामिछानले भनेका छन्– ‘यात्राको बीच–बीचमा स्वागत वा अन्य कार्यक्रम पनि नराख्न अनुरोध गर्दछु ।’

उनले यो यात्राका माध्यमबाट सांकेतिक रुपमा सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहेको समेत बताएका छन् ।

‘हाम्रो यात्राका कारण सवारी आवत् जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ । दवाव यात्रामा साथ दिन आउनु हुने कसैले पनि झण्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि बस्तु प्रयोग नगर्नसमेत आग्रह गर्दछु,’ उनले भनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%३%१%

प्रतिक्रिया दिनुहोस