२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अम्रिसोको कुचो बिक्री गरी लाखौँ आम्दानी

२०८० पौष ५, बिहिबार प्रकाशित ( महिना अघि) ८३२ पाठक संख्या

कावासोती । नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ ।

केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ । पहाडी क्षेत्रका किसान बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको बताएका छन् ।

यो प्रत्येक दुई–दुई वर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्सेनि फरक– फरक ठाउँमा यो खेती गरेर आम्दानी लिनेगरेको बुलिङटार –४, देउरालीका मीनबहादुर आलेले बताउनुभयो । उहाँले वार्षिक अम्रिसो बिक्री गरेर करिब ६० हजार आम्दानी गर्ने गर्नुभएको छ ।

नवलपुरको पहाडी क्षेत्रमा पाखोबारी धेरै रहेकाले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्नेगरेको उहाँको भनाइ छ ।

हुप्सेकोट–५, राम्चेका श्यामबहादुर राईले पनि वार्षिक करिब ९५ हजार आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धान लगाउने खासै ठाउँ छैन, सबै पाखोबारी छ, लगाएको धानले बढीमा चार महिना पुग्छ । पहाडको पाखामा अम्रिसो खेतीगरी आम्दानी हुन थालेपछि यसबाट चामल खरिद गरेर वर्षभरि खानपुग्ने भएको छ ।”

पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताउनुभयो । रानाका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ ।  जसअनुसार राम्चे क्षेत्रमा १९ वटा वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या १ सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा २२८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा ३ सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा ३ सय २५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन् ।

चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दैआएका छन् । सामूहिक रूपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरेको रानाले बताउनुभयो । प्रत्येक वर्षजेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने बेला हुने रानाले बताउनुभयो ।

गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष तीन करोड २६ लाख ३५ हजार ८५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दैआएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले यसैवर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने सूचना अधिकारी गौतमले बताउनुभयो ।

नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्नेगरेको उहाँले बताउनुभयो । यस बाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ, बुटवलमा अम्रिसोको कुचो बिक्री हुनेगरेको उहाँले बताउनुभयो । यो समाचार आजको गोरखापत्रबाट साभार गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस