२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पहिरोको चपेटामा विद्यालय र १ सय ८० परिवार

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) ६३१ पाठक संख्या

बोमलाल गिरी

नवलपुर । नवलपुरको बुलिङटार– ४ मा रहेको पुरानो मगर बस्ती पहिरोको चपेटामा परेको छ । एक सय ८० परिवार र विद्यालय चारैतिरबाट पहिरोको चपेटामा परेको छ ।

९२७ मिटर उचाइमा रहेको उक्त गाउँ पूर्व पश्चिम राजमार्गले छोएको छ । दलदलेबाट २६ किलोमिटरको दूरीमा रहेको यो बुलिङटार गाउँपालिका– ४ को अर्खला गाउँ वि.सं. १९१८ देखि बसेको पुरानो मगर बस्ती ऐतिहासिक बस्ती हो । एक सय ८० घरधुरी रहेको आकर्षक बस्ती पहिरोको चपेटामा परे पनि पहिरो न्यूनीकरणका लागि कुनै पहल नभएको स्थानीयको दुःखेसो छ ।

पहिरोले सेतीनाग माध्यमिक विद्यालयसमेत उच्च जोखिममा छ । २४० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयलाई स्थानान्तरण गर्न र जोखिममुक्त बनाउनुपर्ने अभिभावकहरूले माग गरेका छन् । यहाँको सुन्दर बस्ती र विद्यालयलाई तीनतिरबाट पहिरोले घेरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक सुन्दरमणि सुवेदीका अनुसार कालिगण्डकी कोरिडोर जोड्ने बाटोलाई फराकिलो बनाउने क्रममा जथाभावी खनिँदा र गलत इस्टमेटका कारण २०७६ सालमा ठुलो पहिरो गएपछि थप समस्या सुरु भएको छ ।

‘विद्यालयको पछाडिपट्टि कालिगण्डकी कोरिडोर जोड्ने बाटोलाई फराकिलो बनाउने क्रममा भित्ता खन्दा अर्को ठुलो पहिरो गयो । त्यसपछि विद्यालय सबै जोखिममा परेको सुवेदी भन्नुहुन्छ । जति जोखिम भए पनि ठाउँको अभावले विद्यालयलाई स्थानान्तरण गर्न सकिने अवस्था भने नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर पुलामीले बताउनुभयो ।

बुलिङ्गटार वडा नं ४ का वडा अध्यक्ष मीनबहादुर आले भने यसको समाधान खोज्न उपल्लो निकायका नेता, सांसद, मन्त्री सबैमा हारगुहार गरे पनि चासो नदिएको गुनासो गर्नुभयो । बुलिङटारको अर्खला गाउँ रहेको निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका नेता डा। शशाङ्क कोइरालाले ४ पटकसम्म प्रतिनिधिसभा निर्वाचन जित्नुभयो । यसै क्षेत्रबाट २०७४ मा प्रदेश सभा चुनावमा निर्वाचित भएर कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नुभयो तर यो बस्तीको बारेमा चासो नदिएको वडाध्यक्ष आलेले बताउनुभयो ।

पहिरोको जोखिमका बारेमा जानकारी गराएर स्थलगत निरीक्षण गर्दा पनि समस्या समाधानमा कुनै पहल नै नगरेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर सुस्लिङले बताउनुभयो । सांसद डा.शशाङ्क कोइरालाले भने पहिरो रोकथामका लागि पहल गरिरहेको बताउनुभयो ।

यो पहिरो रोक्न ठुलो बजेट चाहिन्छ, पहिरोको जोखिममा सिङ्गो गाउँनै रहेकोले यसको रोकथाम र पहिरो नखस्ने गरी सडक निर्माणका लागि मैले अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग कुरा अगाडि बढाएको बताउनुभयो । बजेट निकासा भएपछि रोकथामको काम अघि बढ्ने भएकाले पहिरो रोकथामका लागि ३३ करोड रुपियाँ लाग्ने उहाँले बताउनुभयो । यो समाचार गोरखापत्रबाट साभार गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस