२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा काँक्राले उचित मूल्य नपाउँदा किसान चिन्तित

२०८० पौष १, आईतबार प्रकाशित ( महिना अघि) १२७५ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानी हिउँदे काँक्रो खेतीका लागि प्रख्यात छ । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन् । बजार भाउ नपाउँदा भने किसान चिन्तित छन् ।

तरकारी गाउँ भनेर परिचित हुप्सेकोट–१ जुकेपानीका किसानले उत्पादन गरेको काँक्रो काठमाडौँ, भक्तपुर, ललितपुरदेखि पोखरा, बुटवलसम्म पुगेको छ । जिल्ला बाहिर यहाँको काँक्रोको माग बढ्दो छ । भक्तपुरे काँक्रोको नामले परिचित यहाँको काँक्रोको माग व्यापक भए पनि बजार भाउ भने पाउन सकेको छैन । अहिले प्रतिकिलो १० रुपियाँमा पनि बिक्री हुन मुस्किल परेको छ ।

एक महिना अगाडि ४० रुपियाँ प्रतिकिलो बिकेको काँक्रो अहिले प्रतिकिलो १० रुपियाँमा झरेको छ । त्यति मात्र होइन, किसानको लगानी नउठ्ने चिन्ता समेत बढेको किसान कृष्णमाया रानाले बताउनुभयो । सदरमुकाम कावासोती र नजिकका आसपासको बजारमा अहिले पनि प्रतिकिलो ३५ रुपियाँभन्दा बढी मूल्यमा बिक्री हुनेगरेको भए पनि व्यापारीलाई प्रतिकिलो १० रुपियाँमा दिन बाध्य भएको रानाले बताउनुभयो ।

“काँक्राको बिउ राख्दादेखि तयारी भएर बजार पठाउँदासम्म कम्तीमा ४ महिनादेखि ५ महिना समय लाग्ने गर्छ । यो अवधिमा प्रतिकठ्ठामा ३० हजार बढी किसानकै लगानी लाग्छ । किसानको मेहनत, लगानी पनि उत्तिकै हुन्छ । तर अहिले बजार भाउ नपाउँदा सस्तैमा पठाउन बाध्य छौँ” स्थानीय किसान धनमाया रानाले बताउनुभयो ।

हुप्सेकोट–१ का अधिकांश बासिन्दाले ३ कठ्ठादेखि १ बिघा सम्ममा काँक्रो खेती गर्दैआएका छन् । वडा १ मा किसान काँक्रो नलगाउने कम मात्र भेटिन्छन् । आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिक रूपमा आम्दानी लिन नसकेका किसान अहिले काँक्रोखेतीमा आकर्षित हुँदैआएका छन् । वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रोखेती लगाउँदैआएका छन् । तर बजार भाउ नपाउँदा यहाँका किसान चिन्तित भएको सोनी रानाले बताउनुभयो ।

धान बालीमात्रै लगाउँदै आउनुभएका दिलमाया परियारले काँक्रोबाट मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिक रूपमा काँक्रोखेती लगाउँदै आउनुभएको छ । “दुई कठ्ठामा लगाएको काँक्रोबाट खर्च कटाएर वर्षमा करिब दुई लाख आम्दानी हुनेगरेको छ” उहाँले भन्नुभयो ।

व्यावसायिक रूपमा खेती गरेका यस गाउँका करिब ५ सय परिवारले उत्पादन गर्ने काँक्रा खुद्रा बिक्री हुन नसक्दा बिचौलियाको भर पर्नुपर्ने अवस्था छ । सस्तो दरमा बिक्री हुँदा लगानी र मेहनत उठाउन नसक्ने अवस्था आएको किसानको गुनासो छ ।

हुप्सेकोट गाउँपालिका–१, ३ र ४ वडामा काँक्रोखेती हुँदैआएको छ । यहाँको करिब चारसय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रोखेती लगाउँदैआएका छन् । समूह र व्यवसाय दर्तागरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, तौल काटा, डोरीलगायतका सामग्री गाउँपालिकाले सहयोग गर्दैआएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । #गोरखापत्र अनलाईबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस