२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका काँक्रो किसान आन्दोलित

२०८० कार्तिक २२, बुधबार प्रकाशित ( महिना अघि) ४२८ पाठक संख्या

बोमलाल गिरी
नवलपुर । बिचौलियाका कारण आफूहरू मारमा परेको भन्दै नवलपुरका किसान आन्दोलित भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ का काँक्रो किसानले आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले बिचौलियाले आफूहरूलाई भाउ नै नदिई काँक्रो लगेर कालीमाटीमा महँगो मूल्यमा बेच्ने गरेको आरोपसमेत लगाएका छन् ।

किसानले हरेक तीन–तीन दिनमा काँक्रोको न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने र न्यूनतम मूल्य नदिने ठेकेदारलाई काँक्रो बिक्री नगर्ने अडान लिएका छन् । पछिल्लो तीन दिनका लागि प्रतिकिलो २५ रुपियाँ न्यूनतम समर्थन मूल्य कायम गरिनु पर्ने माग किसानको छ । तर ठेकेदार भने उक्त मूल्यमा सहमति नभएपछि केही दिनको समयसिमा दिइएको र ठेकेदारहरू त्यसमा सहमत नभए काँक्रो नै नटिपी बरु बारीमै कुहिएर जान दिने निर्णय गरेको किसान वीरसिंह गाहा मगरले बताउनुभयो ।

२४ कठ्ठामा काँक्रो खेती गरेका स्थानीय भरत राना मगरले स्थानीय ठेकेदारहरूले बारीबाट मूल्य नै नतोकी काँक्रो उठाउने र लगिसकेपछि अर्को दिन निक्कै घटेको मूल्यमा भुक्तानी दिने गरेको बताउनुभयो । ‘‘मूल्य निर्धारण नै नगरी ठेकेदारले बारीबाटै काँक्रो उठाउँछन्, कालीमाटीमा लगेर बेचिसकेपछि नाफा कटाएर बल्ल हामीहरूलाई दिन्छन्,’’ भरतले भन्नुभयो, ‘‘उनीहरूले हामीहरूलाई जति दिन्छन् त्यसले त हाम्रो खर्च पनि उठ्दैन ।’’

उहाँले खर्च कटाएर केही मुनाफा कमाउनका लागि प्रतिकिलो २५ देखि ३० रुपियाँ पाउनु पर्ने माग गर्नुभयो । कात्तिक १२ गते प्रतिकिलो ४२ रुपियाँमा बेचेको काँक्रोको मूल्य दिनदिनै घटेर अहिले अहिले १० रुपियाँमा झरेको किसानहरूको भनाइ छ ।

साढे चार लाख रुपियाँ लगानी गरेर काँक्रो खेती गरेका रानाले प्रतिकिलो १० रुपियाँमा बेच्दा लगानी पनि नउठ्ने गुनासो गर्नुभयो । हुप्सेकोट वडा नम्बर १ मा मात्र झण्डै एक हजार कृषकले ९० बिगाहा क्षेत्रफलमा काँक्रो खेती गरेका छन् । जहाँबाट दैनिक ५० हजार किलो काँक्रो निस्कने नवसृजना कृषि समूहका अध्यक्ष टेकबहादुर मगरले जानकारी दिनुभयो ।

किसानले निर्वाहमुखी खेती गरेकाले बजारलाई निर्धारण गर्न नसक्दा कृषकहरू बिचौलियाको अन्योलमा परेको उहाँको भनाइ छ । अध्यक्ष मगरका अनुसार एक दिनमा ३६ वडा गाडीले यहाँबाट काँक्रो उठाउने गरेका छन् ।

स्थानीय १५र१६ जना ठेकेदारले विभिन्न किसानबाट काँक्रो उठाएर काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा लैजाने गरेका छन् । अहिले काँक्रो खेती गरेका किसानले माघसम्म काँक्रो र त्यसपछि अन्य खेती गर्ने गर्छन् । यो समाचार आजको गोरखापत्र अनलाईनबाट साभार गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस