२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नन्दपुरमा बाघ नियन्त्रणमा लिइहाले राख्न खोर खाली छैनन्  

२०८० भाद्र २६, मंगलबार प्रकाशित ( महिना अघि) ९७६ पाठक संख्या

नारायण शर्मा

कावासोती ।  मध्यबिन्दु नगरपालिकाको नन्दपुरमा एउटा बाघ समात्न ६ वटा हात्तीसहित मंगलबार राति चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी खटिएका छन् । बाघ भेटिएको छैन । फेला परेर नियन्त्रणमा लिइहाले पनि त्यसलाई ल्याएर कहाँ राख्ने भन्ने पिरलो निकुञ्जका कर्मचारीहरुलाई छ ।

निकुञ्जका बाघको खोर कुनै पनि खाली नहुँदा व्यवस्थापनको चिन्ता भइरहेको हो । बस्ती पस्न थालेका बाघ नियन्त्रणमा लिनुभन्दा तिनलाई राख्न समस्या छ । बाघलाई बेहोस बनाएर नियन्त्रण लिएपछि खोरमा राख्नु पर्छ । चितवन,पर्सा र बाँके र बर्दियामा रहेका ११ वटै खोर पहिल्यै प्याक छन् । चितवन निकुन्जमा बाघ राख्ने खोर ५ वटा छ‚ कुनै पनि खाली छैन, निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने । पर्सामा २ वटा खोरमा ३ वटा बाघ छन् । एउटा खोरलाई पार्टेसन गरेर दुईवटा बाघ राखिएको उनले बताए ।

त्यसैगरि बाँके र बर्दिया निकुञ्जमा रहेका २/२ वटा खोरमा पनि बाघ छन् । बाघ समात्न बरु सकिएला‚ खोर नभएकाले ल्याएर चाहिँ कहाँ राख्ने भन्ने चिन्ता छ । समस्या भएकालाई नियन्त्रणमा लिएर सोझै जंगलमा छोडन पनि मिल्दैन, उनले भने । खोरमा राख्न पनि स्याहार, आहार खर्चिलो छ । त्यसका लागि कर्मचारी खटाइरहन पर्ने उनले बताए । समातेको बाघ निकुन्जको मुख्यालय कसरा ल्याउनु पर्छ‚ राख्ने ठाउँ छैन, उनले भने ।

मध्यबिन्दु – २ नन्दपुरमा सोमबार राति बाघले गाउँलेको गोठमा पसेर दुईवटा गाई मारेको थियो । मरेको एउटा गाई काँसघारीको झाडीमा राखेर त्यसलाई खान बाघ आउने आसमा निकुञ्ज कर्मचारी पर्खिबसेका छन् । मचान बनाएर बाघलाई डार्ट गर्ने ( बेहोस पार्न सुई हान्ने ) प्राविधिक टोली बसेको वडाध्यक्ष रामभक्त अधिकारीले बताए । सुई हान्ने टोली तैनाथ छ, उनले भने । बाघले नन्दपुरमा गाईअघि आइतबार ७ वटा बाख्रा र एउटा बंगुर मारेको थियो ।

निकुन्जको टोलीले मध्यबिन्दुमै सोमवार माउबाट छुटेको ७ महिनाको पोथी डमरु नियन्त्रणमा लिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बाघ नियन्त्रणमा लिन २ दर्जन कर्मचारी र सुरक्षाकर्मी परिचालित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस