२०८२ अषाढ ३०, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा ४ वर्षदेखि पुल अलपत्र पारेका ठेकेदारले १० दिनमा निर्माण सम्पन्‍न गर्ने

२०८० जेष्ठ १३, शनिबार प्रकाशित ( साल अघि) १३५७ पाठक संख्या

नारायण शर्मा 

नवलपरासी — कावासोती नगरपालिकाको हसौरा र अठाइस विगाह क्षेत्र जोड्ने पक्की पुल निर्माणको जिम्मा लिएर काम अलपत्र पार्दै सम्पर्कविहीन बनेका ठेकेदारले जेठ २१ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पुल निर्माणको ठेक्का पाएका चितवनका एडभेन्चर कन्सट्रक्सन प्रालिका संचालक ठेकेदार कमल भट्ट बिहीबार प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित भएर उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । ठेकेदार खोज्न प्रजिअलाई मेयरको पत्र शीर्षकमा विभिन्न अनलाइनमा समाचार गत बुधबार प्रकाशन भएको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिए ।

२०७७ असार मसान्तमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि कावासोती नगरपालिकाका मेयर विष्णु भुसालले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर ठेकेदार खोजी गरिदिन पत्राचार गरेका थिए । ठेकेदार भट्टले हस्ताक्षर गरेको बिहीबारको सम्झौता अनुसार जेठ २१ गते काम सम्पन्न नगरे ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने ब्यहोरा उल्लेख छ ।

२०७७ असार मसान्तमा काम सम्पन्न गर्नुपर्ने पुल निर्माण थालेर उनी सम्पर्कविहीन भएका थिए । पुल हेर्ने सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र मर्हजनले पुलको काम सक्न पटकपटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमै नआएको बताए । पछिल्लो पटक गत असोजमा पुल निर्माणको म्याद थप्न सफल भएका ठेकेदार भट्ट म्याद थपेपछि फेरि सम्पर्कविहीन भएका थिए ।

जवकि त्यसअघि नै पुल निर्माणको म्याद दुई पटक थपिसकिएको थियो । कावासोती नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लोहनीले भने काम थालेको ४ वर्षसम्म निर्माण सम्पन्न नहुँदा रडहरूमा खिया लागेर कमसल बनिसकेको बताएका छन् । साथै ठेकेदारले कमसल सिमेन्ट प्रयोग गरेको उनले दाबी गरे । यसबारे छानबिन गर्नुपर्ने पनि वडाध्यक्ष लोहनीको माग छ ।

खोलाको सतह बढ्दा पुल छुन्छ

निर्माणाधीन पुल कमसल रहेको भन्दै जनप्रतिनिधि र स्थानीय अगुवाहरूले आपत्ति जनाउँदै आएका छन् । वर्षामा केरुंगे खोलाको पानीको सतह बढेर पुललाई नै छुने गरेको उनीहरूले बताएका छन् ।

वडाध्यक्ष लोहनीका अनुसार साढे १० करोड लागतमा सुरु गरिएको यो पुलको स्ल्याबको तल्लो भाग र खोलाको सतह ३ फिट दूरी मात्र छ । लोहनीले पुल निर्माणमा लापर्बाही भएको बताएका छन् । साथै पुलका इन्जिनियरले पनि गलत डिजाइन गरेको भन्दै उनीमाथि पनि कारबाही गर्नुपर्ने स्थानीय अगुवाहरूले बताएका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस