२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा केरुंगे खोलाको पुलअलपत्र पारी बेपत्ता ठेकेदार खोज्न सीडीओलाई मेयरको पत्र

२०८० जेष्ठ १०, बुधबार प्रकाशित (0 महिना अघि) ८५४ पाठक संख्या

नारायण शर्मा

नवलपरासी पूर्व — कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पक्की पुल निर्माण अलपत्र पारेर गत ३ वर्षदेखि बेपत्ता ठेकेदारको  खोजी सुरु भएको छ । कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले गत आइतबार प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर कावासोती नगरपालिका वडा नम्बर ३, ४ र ५ जोडने पक्की पुलको ठेक्का लिएका ठेकेदार कमल भट्टको खोजी गरिदिन आग्रह गरेका हुन् ।

पत्रमा काम थालेको वर्षौंसम्म पनि पुल निर्माणको काम सम्पन्न नगरेर बेपत्ता भएको भन्दै ठेकेदारलाई झिकाइदिन अनुरोध गरिएको छ । ठेकेदार झिकाएर कारबाही गर्न र काम पनि सम्पन्न गराउन ताकेता गरिदिन मेयरको आग्रह छ ।

२०७५ सालमा पुल निर्माणको ठेक्का लिएका एडभेन्चर कन्स्ट्रक्सन प्रालिका सञ्चालक कमल भट्ट बेपत्ता भएको र उनको मोबाइलमा सम्पर्क हुन नसकेको मेयरको भनाइ छ ।

२०७७ साल असार मसान्तसम्म काम पूरा गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भए पनि ३ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०७९ असोजमा ०८० असारसम्म पुल निर्माण गर्नेगरी म्याद थप भएको हो । ६ महिनाअघि पुल बनाउन सटरिङ गरिएको थियो । तर त्यसयता कुनै काम भएको छैन ।

काम थालेर सम्पर्कविहीन भएपछि नगरपालिकामा पत्राचार गरेर ठेकेदार खोजिदिन आग्रह गरेको वडा नम्बर–४ का अध्यक्ष नारायण लोहनीले बताए । अट्ठाइस बिघा र हसौरा जोडने १ सय ४० मिटर लामा पुल निर्माणका लागि एडभेन्चर कन्स्ट्रक्सनले १० करोड रुपैयाँमा ठेक्का सम्झौता लिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%२%

प्रतिक्रिया दिनुहोस