२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

बुटवल-नारायणगढ खण्ड: थोत्रो सडकमा चिल्ला गाडी

२०८० बैशाख ९, शनिबार प्रकाशित ( साल अघि) ३४४४ पाठक संख्या

कावासोती । बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा त्यसको असर समग्र यातायात व्यवसायमा परेको छ। यात्रु र सडक किनारमा नागरिकले त सास्ती भोगेकै थिए, यातायात व्यवसायीले पनि आर्थिक रूपमा ठूलो क्षति भोग्नु परिरहेको छ।

बुटवलदेखि काठमाडौँसम्म रात्रिकालीन एसी बस सञ्चालन गर्दै आएका सागर पीएसले सडकका कारण व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आएको बताए।

स्वदेशमै केही उद्यम गर्ने सोचका साथ यातायात व्यवसायमा रमाएका पीएसलाई पछिल्लो तीन वर्ष निकै पीडादायक बनेको छ। भैरहवा-काठमाडौंका लागि सेभेनस्टार एसी बस सञ्चालन गरेका पीएसले बुटवल-नारायणगढ सडककै कारण आजित बनेको गुनासो पोखे।

‘बुटवलबाट नारायणगढसम्म पुग्दा कतिखेर गाडी बिग्रने हो भन्ने पिरलो हुन्छ,’ उनले भने, ‘तिखा ढुंगाले पटक–पटक टायर पड्कन्छ, आम्दानीभन्दा खर्च बढी भइरहेको छ।’ उनले सडकको दूरावस्थाले गाडीको आयु नै घटेको बताए। ‘४ वर्षअघि किनेको गाडी थोत्रिसक्यो, भैरहवाबाट काठमाडौं पुग्दा कति खर्च हुन्छ भन्न सकिँदैन,’ उनले भने।

उनका अनुसार ‘सस्पेन्स बेलुन’ प्राय बिग्रिरहन्छ। एकपटकमा यो फेर्दा ३२ हजार खर्च हुन्छ। ‘सरकारले सडक निर्माण समयमा पूरा नगर्दा मर्कामा छौँ,’ उनले भने, ‘ऋण निकालेर गाडी किनियो, किस्ता तिर्न सक्ने अवस्था छैन।’

सागरले जस्तै स्वदेशमै उद्यम गर्ने सोचका साथ यातायात व्यवसायमा लागेका देवराज खनालको व्यथा पनि उस्तै छ। एयर बस सञ्चालन गरेका उनले बुटवल–नारायणगढको सडक निर्माण सुस्त हुँदा त्यसको क्षति आफूहरूले भोग्नुपरेको दुखेसो पोखे। ‘यति ढिलो गतीमा सडक बनेको छ, यस्तै अवस्था रहे गाडी थन्क्याएर बस्नुपर्छ,’ उनले भने।

उनले कपिलवस्तु, पत्थरगञ्ज, गोरुसिंगेदेखि काठमाडौँ तीनवटा बस सञ्चालन गरेको बताए। ‘बुटवलदेखि बर्दघाटसम्म १९ वटा डाइभर्सन छ,’ खनालले भने, ‘बर्दघाटदेखि नारायणगढ पुग्दा झनै सास्ती छ।’

उनले पाल्पा–पोखरा हुँदै काठमाडौँ जान पनि नसक्ने अवस्था रहेको बताए। चारैतिर सडक निर्माणले नाकाबन्दी छ। सडकका कारण यात्रुले धुलो र सास्ती पाउने कुरा त छँदैछ, त्यसमाथि यातायात व्यवसायीले गाडी नै थन्काउनुपर्ने अवस्था आएको बताउन थालेका छन्।

यातायात व्यवसायीहरू अहिलेसम्मकै साह्रै पीडादायी अवस्थामा रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बताए। बुटवलदेखि काठमाडौँ जानुभन्दा दिल्ली पुग्दा सस्तो हुने गरेको उनले सुनाए।

सडकका कारण गाडीको मर्मत खर्च र डिजेल खर्च समेत दोब्बर भएको उनको भनाइ छ। ‘दैनिक हजारौं मानिस ओहोरदोहोर गर्ने सडक समयमा निर्माण हुँदैन, अर्बौँका एयरपोर्ट बनाउन सरकारलाई हतार छ,’ उनले गुनासो पोख्दै भने, ‘सडक निर्माण र सुरक्षामा सरकारले ध्यानै दिएन।’ उनले अहिले यातायात व्यवसायीहरू सबैभन्दा कठिन र जटिल अवस्थामा आएको बताए।

सडकको खाल्डाखुल्डीले बुटवलदेखि काठमाडौं पुग्दा पहिलेभन्दा २० देखि २५ लिटर थप तेल खर्च हुने गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवन बन्जाडेले बताए। काठमाडौँसम्म पुग्दा टायरमा बारम्बार समस्या आउँछ। एक महिनामा गरे पुग्ने यान्त्रिक परीक्षण प्रत्येक ट्रिपमा गर्नुपरेको छ।

‘सडक समयमा पूरा नहुँदा यातायात व्यवसायीको बेहाल भएको छ, यदि समयमा निर्माण पूरा हुने भए एक लाखसम्म सहयोग दिन्थ्यौँ भन्ने गुनासो यातायात व्यवसायीको सुनिन्छ,’ बन्जाडेले भने। सडक निर्माण अधुरो हुँदा नागरिकको स्वास्थ्यमा त गम्भीर असर गरेको छ। यातायात क्षेत्रले पनि गाडी नै चलाउन नसक्ने अवस्था आएको बन्जाडे बताउँछन्। ‘सरकार अस्थिर हुने, राजनीतिक दलहरू इमान्दार नहुँदा हामीले निकै दुःख पायौँ, अब यस्तै अवस्था रहे हड्ताल गर्नुपर्छ,’ उनले भने।

बुटवल–नारायणगड सडकको गति यस्तै भए अझै २५ वर्षसम्म सडक निर्माण नसकिने उनको दाबी छ। हिउँदमा जेनतेन गाडीहरू चले पनि वर्खामा यो सडकमा गाडी चलाउन नसकिने उनी बताउँछन्।

बुटवल–नारायणगढ सडक ४२ महिनामा काम सक्ने गरी २०७५ चैत ८ गते निर्माण सुरु गरिएको थियो। तर सडक निर्माण सुरु भएको ४ वर्ष पूरा हुन लाग्दा २५ प्रतिशत मात्रै काम भएको छ।

११४ किलोमिटरको यो सडकखण्ड पार गर्न ४ देखि ६ घण्टा लाग्ने भएकाले सवारी चालक र सेवाग्राहीलाई निकै सकस पुग्ने गरेको छ। निर्माण सुरु भएको यति लामो समयसम्म पनि कामले गति लिन नसक्दा सबैलाई हैरानी पारेको हो।

‘एउटा घर बनाउँदा पनि कम्तीमा २५/३० जनाले  काम गरेको देखिन्छ, तर यति ठूलो आयोजनामा मुस्किलले ५० जना मजदुरले मात्रै काम गरेको देखिन्छ,’ यातायात व्यवसायी बन्जाडे प्रश्न गर्छन्, ‘अनि कसरी सकिन्छ यो सडकरु’

सडक विस्तार गरी चार लेनको बनाउने गरी २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसिएसन र सडक विभागबीच सम्झौता भएको थियो। यस सडकलाई दुई खण्डमा विभाजन गरेर सो कम्पनीलाई नै जिम्मा दिइएको थियो।

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल सडकखण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। गैँडाकोट–दाउन्ने ६५ किलोमिटर सडकलाई खण्ड १ ९पूर्वी खण्ड० र दाउन्ने-बुटवल ४८ किलोमिटर सडकलाई खण्ड २ ९पश्चिम खण्ड०मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ।

दुवैतर्फ कामको सुस्तता उस्तै छ। ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले काममा विलम्ब गर्दा यो सडकखण्डमा यात्रा गर्ने यात्रुलाई पनि निकै सास्ती छ।

ठेकेदारले उक्त सडकखण्डका ठाउँठाउँमा पुल र कल्भर्ट निर्माणलाई जोड दिएको छ। राजमार्गका ठाउँठाउँमा भत्काएर छाडेको छ। लामो समय खाडल, धुलो र हिलोले यात्रु आजित छन्। निर्माण सम्पन्न गर्ने समयावधि सकिनै लाग्दा समेत सडक विस्तार निकै सुस्त छ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कम्पनीले अझै सोचेअनुरूपको काम गर्न नसकेको बताउँछन्। उनले काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामा रहेको तर पछि कम्पनीले काम गर्ने भएपछि ६ महिना समय दिइएको बताए।

बुटवल–बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत हाराहारी काम भएको छ। उता बर्दघाट–गैँडाकोट क्षेत्रमा हालसम्म करिब १९ प्रतिशत मात्र काम भएको छ। यो सडक विस्तार गरी चार लेनको बनाएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा थियो।

आयोजनाका अनुसार बुटवल-बर्दघाट सडक खण्डमा अहिले ८० वटा कल्भर्ट निर्माण भएका छन् भने ५२ वटा कल्भर्टका अधिकांश काम सकिएको छ । २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने अवस्थामा छ । #हिमालप्रेस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%२%१५%१५%

प्रतिक्रिया दिनुहोस