२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पुराना एम्बुलेन्स सञ्चालनमा रोक

२०८० बैशाख ६, बुधबार प्रकाशित ( साल अघि) ८३० पाठक संख्या

कावासोती । नवलपुरमा १० वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।  जिल्ला एम्बुलेन्स सञ्चालन समितिको बैठकले १० वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ अनुसार एम्बुलेन्स सञ्चालन, व्यवस्थापन र नियमन गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताउनुभयो। निर्देशिकाअनुसार प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी निर्माण भएको समितिले पुराना एम्बुलेन्स विस्थापन गर्ने निर्णय गरेको हो। चापागाईंले भन्नुभयो, “राष्ट्रिय निर्देशिकामा १० वर्ष पुरानो एम्बुलेन्स सञ्चालन गर्न नपाउने भनिएको छ, जिल्लाले त्यसलाई कार्यान्वयन गर्न लागेको हो।”

पुराना सवारी एम्बुलेन्सका रूपमा प्रयोग हुँदा बिरामी बोकेर हिँडेका बेला बिग्रिने सम्भावना धेरै हुने र समयमा उपचारका लागि समस्या हुन सक्ने भएकाले यस्तो गरिएको उहाँले बताउनुभयो।

सोही निर्देशिकाअनुसार हाल सञ्चालनमा रहेका सामान्य एम्बुलेन्स जुन ‘ग’ वर्गमा रहेका छन्। यिनीहरूको विस्थापन गर्दै लैजानेसमेत स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो। निर्देशिकामा ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरिएकोमा ‘ग’ वर्गका एम्बुलेन्सलाई ‘क’ र ‘ख’मा स्तरोन्नति गर्ने वा यसलाई बिरामी ओसारपसार गर्ने गाडी भनेर प्रयोग गरिने उहाँले बताउनुभयो। निर्देशिका अनुसार ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्समा विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी हुने स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताउनुभयो।

नवलपरासीपूर्व, नवलपुरमा हालसम्म ४२ वटा एम्बुलेन्सले सञ्चालन अनुमति लिए पनि ३० वटा ‘ग’ वर्गका एम्बुलेन्स छन्। चारवटा ‘ख’ वर्गको एम्बुलेन्स खरिदका लागि प्रक्रियामा रहेको उहाँले बताउनुभयो। जिल्ला एम्बुलेन्स सञ्चालन समितिले २०८० वैशाखभित्र नवीकरण नभएका एम्बुलेन्सलाई नवीकरण गर्न अनुरोध गरेको छ।

समितिले एम्बुलेन्सको नयाँ भाडादर निर्धारण गरेको छस जसअनुसार कालोपत्रे सडकमा प्रतिकिलोमिटर ६५, कच्ची सडकमा प्रतिकिलोमिटर १०८, पहाडी क्षेत्रमा प्रतिकिलोमिटर २०२ र पाँच किलोमिटरभित्र एकमुष्ट ६७५ रुपियाँ शुल्क निर्धारण गरेको छ। जिल्लामा सञ्चालित एम्बुलेन्सको नियमित अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने चापागाईंले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस