२०८१ जेष्ठ ८, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका महिला निगुरो बेचेर घरखर्च धान्दै

२०८० बैशाख ३, आईतबार प्रकाशित ( साल अघि) ६०४ पाठक संख्या

कावासोती  । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउनुहुन्छ । पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जङ्गलमा निगुरो पाइन्छ । शिख्रौली, पिप्रहर, केउरानी, लौगाई, पिठौली, अमलटारीलगायतका नारायणी नदी नजिकका सामुदायिक वनमा पाइने निगुरो स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने गरेको छ ।

चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेशगरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोकोभरि निगुरो बोकेर निस्कन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् ।

वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोर–किशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि नारायणी नदी आसपासका जङ्गलको निगुरो सङ्कलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, डन्डालगायतका बजारमा लगरे बिक्री गर्दै आएको कावासोती–१२ गैरीकी माया नेपाली बताउनुहुन्छ ।

गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वनक्षेत्रमा दैनिक तीन–चार सय जनाले निगुरो टिप्दै आएका छन् । धेरै मजदुरले दैनिक निगुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती–१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्साल बताउनुहुन्छ ।

यहाँबाट स्थानीयदेखि नारायणघाट, काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । स्थानीय बजारमै निगुरोको माग अत्यधिक हुने भएकाले स्थानीय बजार नै प्राथमिकता रहने गरेको मध्यबिन्दुकी अनिता माझी बताउनुहुन्छ । माझीका अनुसार कहिले वनबाट टिपेर ल्याएको निगुरो स्थानीय बजार नपुग्दै गाउँघरमा नै सकिन्छन् ।

निगुरोको माग अत्यधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानीयले निगुरो सङ्कलन गर्ने गरेका छन् । वनमा भेटिने एकसिङ्गे गैँडा, बाघको डर मात्रै होइन निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटे बताउनुहुन्छ । विषेशगरेर नारायणी नदी किनारमा रहेका बोटे माझी मुसहरले चैतदेखि साउनसम्म नारायणीमा माछा मार्न अनुमति नपाउँदा निगुरो बेचेर घर चलाउँदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निगुरो टिप्ने तथा सङ्कलन गर्दै आएका छ्न । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस