२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन

२०७९ फागुन ७, आईतबार प्रकाशित ( साल अघि) ४८७ पाठक संख्या

जगान्नाथपुरीस्थित गोवद्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरेका छन् ।

वि।सं। २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रूपमा काम गर्ने बताए ।

शङ्कराचार्य मठका पीठाधीश डा। रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहेका सन्त डा। केशवानन्द गिरीलगायतले आद्य शङ्कराचार्य आएर बसेकैले यो मठलाई शङ्कराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्त्व विश्वमै बढेको बताए ।

वैदिक सनातनी परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतारका रूपमा लिइन्छ । आद्य शङ्कराचार्यले नै सनातन धर्म, संस्कृतिको रक्षाका लागि भारत वर्षका चार कुनामा चार मठ स्थापना गरेका थिए । ती मठ अहिले पनि उनले नै बनाएको नियमअनुसार सञ्चालन भइरहेको छ ।

आद्य शङ्कराचार्य २८–३० वर्षको उमेरमा नेपाल आएका थिए । इसापूर्व ४७८ उनी नेपाल आउँदा लिच्छवि राजा शिवदेवले शासन गरेको विश्वास गरिन्छ । शङ्कराचार्य नेपाल आएको समाचारले समस्त सनातन धर्मावलम्बीको हृदयमा उत्साहको सञ्चार भएको र दर्शन गर्न मानिसको ठूलो भीड लागेको थियो ।

साधारण जनताको अनुरोधमा वेद पारङ्गत ब्राह्मणले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । आद्य शङ्कराचार्य आएर बसेकाले यहाँ मन्दिर र मठ स्थापना गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस