२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहर संकलन सुरु

२०७९ माघ २४, मंगलबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

बर्दघाट । सात पालिका रहेको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले पहिलो पटक स्रोतमै वर्गीकरण गरेर फोहर संकलन गर्ने कार्य थालनी गरेको छ । स्रोतमै फोहोर वर्गीकरण गरेर संकलन गर्ने कार्यको थालनी गरिएको हो ।

नगरपालिकाले ३० बुँदे कार्ययोजनाअन्तर्गत कुहिने नकुहिने र शिशाजन्य गरेर तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । नगर क्षेत्रबाट उत्पादन हुने फोहरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले आनाकानी तथा आलटाल गरे र अवरोध गरे तत्काल नगरबाट दिने सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहरमैला व्यवस्थापन कार्यान्वयनका लागि अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । प्रचलित कानुनबमोजिम रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना गर्नेगरी अभियानलाई अघि बढाइएको छ । यसैबीच बर्दघाट ४ को जङ्गल क्षेत्रमा ल्यान्डफिलसाइट समेत बनाउने गरी कार्य थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख श्रेष्ठले नगरसभा र नगर कार्यपालिकाबाट नै नीतिगत निर्णय गरेर आवश्यक कार्यविधि तथा कानुन बनाएर फोहर वर्गीकरण अभियानमा लागेको बताए। नगरपालिकाले फोहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । फोहर संकलनको जिम्मा पाएको बर्दघाट बजार विकास समितिले २२ टोलबाट संकलन गरेको फोहर अहिले वर्गीकृत भएर प्रशोधन स्थलमा पुग्ने गरेपछि फोहरको चापसमेत घट्दै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस