२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुई गैंडा मारिएको घटनामा राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन

२०७९ माघ २४, मंगलबार प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

नवलपुर । खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो ।

तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका कारण सुरक्षा रणनीति बनाउन अध्ययन टोली बनेको हो ।

‘चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा हामीले सोमबार छलफल राख्यौं । निकुञ्ज प्रमुख र नेपाली सेनाका गणपतिसँग घटनाका बारेमा बुझ्यौं । मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष र समुदायमा आधारित चोरी सिकारविरुद्धको युनिटसँग पनि छलफल गर्‍यौं,’ उपमहानिर्देशक कार्कीले भने । मंगलबार घटनास्थलमा गएर थप अध्ययन गर्ने उनले बताए ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार माघ ६ गते मध्याह्न दुईवटा गैंडा मृत फेला परेका थिए । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा पर्ने नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैंडा र अर्को अन्दाजी चार वर्षको भाले बच्चा गैंडा मृत भेटिएका थिए । बच्चा गैंडाको पलाउँदै गरेको खाग सुरक्षित रहे पनि माउको खाग काटेर लगेको हुँदा तस्करले नै गैंडा मारेको पुष्टि भएको थियो । गैंडाको पोस्टमार्टम गर्दा करेन्ट लागेर मरेको प्रस्ट भएको सूचना अधिकारी तिवारीले बताए ।

नदी किनारको मन्दिर आड र घटनास्थलमा भेटिएको विजुलीको तार एउटै भएका कारण मन्दिरबाटै तार टाँगेर लगेर गैंडा मारेको देखिएको तिवारीले बताए । ‘करेन्ट लागेर गैंडा मरेको पोस्टमार्टमले क्लियर गरेको छ । बिजुली कहाँबाट लगे भनेर हेर्दा मन्दिरबाटै लगेको देखिन्छ । तैपनि अनुसन्धानको अन्तिम नतिजा आइसकेको छैन,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस