२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरका कृषकलाई हिउँदे (चैते)धान लगाउने चटारो

२०७९ माघ २३, सोमबार प्रकाशित ( साल अघि) ६९२ पाठक संख्या

विष्णुप्रसाद गौडेल ( रासस) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे(चैते) धान लगाउन चटारो रहेको छ ।

जिल्लाको कावासोती नगरपालिका,गैँडाकोटा नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, वियनी त्रिवेणी गाउँपालिका,बुलिङटार गाउँपालिका र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।

बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धान राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनु भयो । “गत वर्ष जिल्लाको १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो” उहाँले भन्नु भयो “बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ ।”
खाद्यान्न अभावको परिपूर्तिका लागि राम्रो उपाय भएकाले नवलपरासीमा चैते धानको क्रमशः विस्तार हुँदै गरेको लामिछानेले बाउनु भयो । “चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले पनि किसानहरूका लागि चैते धान खेती राम्रो मानिन्छ ।” उहाँले भन्नु भयो “चैते धान उत्पादन हुँदा वर्षाको समय हुने भएकाले चैते धान स्याहार्ने बेलामा किसानले अलिकति सजकता अपनाउन आवश्यक छ ।”

जिल्लामा गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार १२३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शंकर पौडेलले बताउनु भयो । आर्थिक वर्ष २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको पौडेलले बताउनुभयो ।

“चैतेधानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “तर, हामीले गरेको लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन ।” जिल्लामा विशेष गरी चैतेधानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ । अहिले जिल्लाको गैँडाकोट नगरपालिका ११ र १२, कावासोती नगरपालिकाको ९ देखि १७ नम्वर वडामा चैते धान वढि गरिएको पाइन्छ ।

“धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेका छन् ।” जिल्लामा चैतेधानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उहाँले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र समेत धान निर्यात गर्न सकिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस