२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काममा तीव्रता

२०७९ माघ २१, शनिबार प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

चितवन। वन्यजन्तुको विचरणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।

निकुञ्जले यस वर्ष घाँसेमैदान निर्माण आयोजनाअन्तर्गत ३०८ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन र ५० हेक्टरमा नयाँ निर्माणको काम सुरु गरेको हो। अहिले निकुञ्जको तमोर ताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।

घाँसेमैदान व्यवस्थापनका लागि ३८ लाख ३५ हजार र नयाँ निर्माणका लागि २५ लाख रुपियाँ बजेट विनियोजन भएको तिवारीले बताउनुभयो। निकै कम रकममा ठेक्का परेको छ। उहाँले भन्नुभयो, “निकुञ्जको आवश्यकताअनुसार यो बजेटले पुग्दैन तर पनि हामीले यतिले नै काम चलाएका छौँ।” निकुञ्जका अनुसार अहिले निकुञ्जको पश्चिमी क्षेत्र लामीताल, सुखीभार, भिम्लेलगायतका स्थानमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ। यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत १५ लाख रुपियाँको लागतमा एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापनको कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो।

निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भइरहेको जनाएको छ। पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमति लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको तिवारीले बताउनुभयो। चैत महिनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सक्ने गरी काम अघि बढाइएको छ।

निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान रहेको छ। घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सङ्ख्या बढ्ने र जनावर बस्ती क्षेत्रमा जाने क्रम कम हुनेछ। घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी आउने निकुञ्जको अपेक्षा छ। निकुञ्ज कार्यालयले दिएको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा छ सय हेक्टर र आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान निर्माण गरिएको थियो।

दुई आर्थिक वर्षमा ४५७ हेक्टरमा व्यवस्थापन गरिएको थियो। घाँसेमैदान व्यवस्थापन र निर्माणमा ध्यान नदिने हो भने एकसिङे गैँडा, चित्तल, हरिणलगायतका जनावरका लागि खाना अभाव हुने निकुञ्ज कार्यालयले जनाएको खबर आजको गोरखापत्रमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस