२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदीको भंगालो नवलपुरतर्फ फर्काइयो

२०७९ माघ २०, शुक्रबार प्रकाशित ( साल अघि) ६३११ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी । पूर्वी नवलपरासी र चितवनको सीमा नदी नारायणीको भंगालो बिहीबार नवलपरासीतर्फ फर्काइएको छ ।

चितवनतर्फ नारायणी नदीको ढुंगा जथाभावी रुपमा निकालेका कारण नदी सतह होचो हुँदा गत ६ महिनादेखि नारायणीको पानी चितवनतर्फबाट धेरै बग्ने गरेको थियो ।

उत्तरतर्फ बग्ने नारायणीको भंगालो चितवनतर्फको जमिनको सतह होचो हुँदै गएपछि त्यतै बहाब बढेको थियो । गैंडाकोट नगरपालिका वडा नम्बर १० स्थित टुबोर्ग बियर कारखाना नजिकबाट पानी एकोहोरो चितवनतर्फ (दक्षिणतर्फ ) बगेको स्थानबाट नारायणीको केही पानी उत्तरतर्फ फर्काइएको हो ।

गैंडाकोट नगरपालिकाले ६ दिनसम्म डोजर लगाएर पानीको बहाब उत्तरतर्फ फर्काएको वडा नम्बर १७ का वडा अध्यक्ष गोपी कंडेलले जानकारी दिए । चितवनतर्फको भागमा नदीबाट ढुंगा निकासी गरेका कारण सतह होचो हुँदा पानी त्यतै बगेको थियो, कंडेलले भने ।

नवलपरासीको भागतर्फको ढुंगा करिब ६ दिन काम गरेर ( डोजर लगाएर) पन्छाएपछि पानी उत्तर तर्फबाट बग्न थालेको हो । गत आइतबारदेखि त्यहाँ डोजर लगाएर पानीको बहाब यता आउने बनाइएको हो । वातावरणीय पक्षमा ध्यान नदिएर ढुंगा धेरै झिकेका कारण सतह गहिरिएर पानी उतै एकोहोरिएको स्थानीयहरूको भनाइ छ ।

हिउँदेयाममा नवलपरासीतर्फको भंगालो सुक्दैगएपछि जलचर र निकुन्जका वन्यजन्तुसमेत प्रभावित भएको भन्दै संरक्षणविद्‍हरूले चिन्ता व्यक्त गरेका थिए । कतिपयले नारायणीको पानी नवलपरासीतर्फ सुक्दै गएका कारण गैंडाको चोरी शिकारी बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नदीमा पानी हुँदा नदी तर्न कठिन हुने भएकाले चोरी शिकारी पनि कम हुने बताइन्छ ।

नारायणगढ पुलदेखि केही दक्षिणबाट नारायणीको भंगालो चितवन र नवलपरासी हुँदै छुछारको पिठौलीभन्दा तल फेरि एकै स्थानमा मिसिने गरेको थियो । नदीको बीचमा भने चितवन निकुन्ज रहेको छ । चितवन र नवलपरासी बीचमा रहेको निकुन्जको दुवैतर्फ पानीको बहाब छ । वर्षायाममा पानीको सतह उर्लेर आउँदा सबैतिरबाट पानी बग्ने गरे पनि हिउँदेयाममा दक्षिणतर्फ धेरै बहाब भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२७%१२%६%३%३%१४%

प्रतिक्रिया दिनुहोस