२०७९ माघ २१, शनिबार
नयाँ
पछिला अपडेट

माघे औँसीमा त्रिवेणी धाममा भक्तजनको घुइँचो

२०७९ माघ ७, शनिबार प्रकाशित ( हफ्ता अघि) २१३ पाठक संख्या

कावासोती । माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ ।

भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका हुन् । विगत वर्षमा कोरोना महामारीले लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ ।

शुक्रबारदेखिनै आएका भक्तजन त्रिवेणी धाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन् । त्रिवेणी धाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको हो ।

त्रिवेणी धामदेखि दुई किलोमिटर दक्षिण पश्चिमका सडकका किनारमा मिठाई पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्ने त्रिपाल टाँगेर बसेका छन् । मेलाका कारण त्रिवेणी बजार र यस आसपासका पाँच दर्जनभन्दा बढी होटल भरिभराउ छन् । नारायणी नदीका घाट स्नानका लागि व्यवस्थित गरिएको छ । नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ ।

मेलाको भीडभाडमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ । माघे औँसीमा त्रिवेणी धाममा स्नान गर्न देवतासमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको त्रिवेणी धामस्थित गजेन्द्रमोक्ष दिव्यधाका स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाम भएकाले र महिनामा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहेको छ । स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणी धाम त्रेता युगमा वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान ऐतिहासिक धार्मिकस्थल हो ।

भगवान् मुक्तिनाथको चरण पादुकास्थल पनि भएकाले यस्को ठूलो धार्मिक महत्व रहेको विश्वास गरिन्छ । परापूर्वकालमा हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास रहँदै आएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस