आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै छ।
नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवस मनाउन लागिएको हो।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।
प्रज्ञा प्रतिष्ठानको नयाँ शब्दकोशले ‘शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चुलो र घेरा हाली सिइएको बस्त्र वा शिरपोस’ लाई टोपी भनी परिभाषित गरेको छ। त्यसैले नेपाली टोपी भनेको ढाका टोपी मात्रै होइन। नेपालभरि लगाइने सबै प्रकारका टोपीहरू नेपाली टोपी नै हुन्। नेपालमा प्रयोग हुने विभिन्न प्रकारका टोपी जस्तै भादगाउँले टोपी, नेपाली टोपी, आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी, मैथली आदिकवि विद्यापतिले लगाउने विद्यापति टोपीलगायत नेपालका विभिन्न जातजातिले प्रयोग गर्दै आएका टोपीहरू नेपाली टोपी नै हुन्।
नेपालमा टोपी लगाउन कहिलेदेखि सुरु भयो वा यसको विकासक्रम के हो भन्ने जानकारी कहींकतै पनि पाइँदैन। यो परापूर्वकालदेखि प्रयोगमा आएको बस्त्र हो। नेपालमा विविध भूगोल, क्षेत्र, जाति वा समुदाय अनुसार आ(आफ्ना प्रकारका टोपी रहिआएका छन्। नेपालमा धेरै प्रकारका टोपी हजारौं वर्षदेखि लगाउने गरिएको छ। ढाका टोपी धेरै प्रकारका टोपीमध्येको एक नेपाली टोपी हो।