काठमाडौं । उपन्यासकार मालिका केशरी उपनामले परिचित प्रकाश कुमार श्रेष्ठलाई आभाष उत्कृष्ट साहित्य पुरस्कार प्रदान गरिएको छ ।
सनिवार काठमाण्डौमा पुरस्कार कोषले आयोजना गरेको कार्यक्रममा केशरीले तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ को लागि पुरस्कार दिइएको आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले केशरीका भाइ प्रवीण चन्द्र श्रेष्ठलाई पुरस्कार दिएका हुन ।
लेखक काम विशेषले अमेरिका रहेकाले उनका भाइले पुरस्कार ग्रहण गरेका हुन । कार्यक्रममा अध्यक्ष विपुल पोखरेलले उपन्यासमा उठान भएको विषय मार्मिक र शरणार्थीलाई दमित गर्ने काम भइरहेको उल्लेख गर्दै परिचयपत्र उपलब्ध गराउन पनि हिच्किचाउने नहुने बताए । साथै पोखरेलले घृणित अवस्थामा पनि प्रेम अङ्कुरण हुन्न भन्ने देखाउन लेखक सफल भएको बताए । उक्त पुरस्कारको राशि दुई लाख र रहेको छ ।
कोषका संयोजक उत्तम बस्नेतले भर्खर स्थापना भएको कोषले साहित्यकारलाई प्रोत्साहनस्वरूप पुरस्कार दिन थालेको बताए । कोषले पहिलो पुरस्कार नै ‘दुङाल’ लाई दिएको उनले सुनाए । आगामी वर्षमा पनि साहित्यकारलाई छनोट गरी पुरस्कार अर्पण गरिने कोषले जनाएको छ ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, समीक्षक राजकुमार बानियाँ लगायतले प्रकृति, संस्कृति र प्रेमलाई उपन्यासकार केशरीले उपन्यासमा रोचक तरिकाले प्रस्तुत गरी पाठकको ध्यान तान्न सफल भएको बताएका थिए ।
साहित्यकार केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ २०५८, र उपन्यासहरू ‘पुनरुत्थान’ २०७२ र ‘सुवर्णलता’, २०७४ प्रकाशन भइसकेको छ ।