२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा विद्यालय सञ्चालन गर्न महायज्ञ  

२०७९ मंसिर २५, आईतबार प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

देवचुली । पूर्वी नवलपरासीको देवचुलीस्थित पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि हरेक वर्ष धनधान्याञ्चल महायज्ञ गर्नुपर्ने बाध्यता रहेको छ ।

विसं २०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान गर्ने ध्येयले स्थापित सो विद्यालयमा आवासीयरूपमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन हुुने गरेको हो । हरेक वर्ष स्थानीयवासीले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर सञ्चालनको खर्च जोहो गर्दै आइरहेका छन् ।

विद्यालयमा आवासीयरूपमा रहेर अध्ययनरत विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष विद्यालयमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर खर्च व्यवस्थापन गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताउनुभयो । यस वर्ष पनि यही मङ्सिर २२ गतेदेखि अखिल नेपाल सन्त सम्मेलन एवं शतचण्डी धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराईका अनुसार विद्यालयमा अहिले कक्षा ६ देखि १० सम्म गरेर ७० विद्यार्थी आवासीयरूपमा रहेर अध्ययन गर्ने गरेका छन । विद्यालयमा सरकारी दरबन्दीका आठ शिक्षकको तलब भत्ताबाहेक अन्य सरकारी सहयोग आउने नगरेको उहाँले गुनासो गर्नुभयो । “स्थानीय तह र प्रदेश सरकार टुक्रे योजना र सामान्य अनुदानबाहेक राज्यबाट थप केही आउँदैन, विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष धनधान्याञ्चल आयोजना गर्नुपर्ने बाध्यता रहेको छ”, उहाँले भन्नुभयो ।

ब्रह्मलीन क्षोत्रीय ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द पुरीले वैदिक वाङ्मय एवं षोडश संस्कार संरक्षणको अवधारणाअनुसार पूर्वी नवलपरासीको देवचुली–१५ मा विद्यालयको स्थापना गर्नुभएको थियो । विद्यालयमा आवासीयरूपमा रहने विद्यार्थीको भोजन, आवासलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनका लागि विसं २०५६ देखि पशुपति वैदिक आश्रम ९ट्रष्ट०को स्थापना गरेर विद्यालयको दैनिक खर्च व्यवस्थापन सो आश्रमको मातहतमा गरिँदै आएको छ ।

महायज्ञमा सङ्कलन भएको धान र चामल तथा अन्य जिन्सी सामान बिक्री तथा सङ्कलन भएको नगद रकमले सञ्चालित सो विद्यालयलाई सरकारले ध्यान दिन स्थानीयवासीले माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस