२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

मूल्य बढेपछि नवलपुरका किसान तोरीखेतीतर्फ आकर्षित

२०७९ मंसिर २१, बुधबार प्रकाशित ( साल अघि) ४६६ पाठक संख्या

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्वमा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो ।

तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

नवलपरासीको गैँडाकोट नगरपालिकाबाट पश्चिममा विनयी त्रिवेणी गाउँपालिकासम्म तोरीखेतीको पकेट क्षेत्र मानिन्छ । वर्षौँदेखि तोरीखेती लगाउँदै आउनुभएकी देवचुली नगरपालिकाका सीता गौतमले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताए ।

‘दुई–तीन वर्षदेखि गाउँघरमा पनि तोरीको माग बढेको छ’, उनले भने, ‘घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकामा केही वर्षदेखि गाउँघरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौं ‘ कुखुराको मल प्रयोग गर्न थालेपछि तोरी राम्रो हुन थालेको उनको भनाइ छ ।

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । तर तोरीखेतीका लागि किसान आकर्षित भइरहँदा चुनौती र समस्या उत्तिकै रहेको गुनासो कायमै छ । बाली लगाउने सुरुआती दिनदेखि नै मल नपाएका किसान तोरी लगाउँदा समयमा मल उपलब्ध नहुनु नै मुख्य समस्याको रूपमा देखापरेको बताउँछन् ।

सरकारले मल आएको छ भने पनि समयमा मल नपाएको कृषक कल्पना भण्डारीले गुनासो गरे । ‘अहिले तोरीको बजार खोज्नु नै पर्दैन, घरैबाट बिक्री हुन्छ’, उनले भने, ‘खेती लगाउँदा मल नपाउने समस्याले कृषकलाई सधैँ पिरोल्ने गरेको छ ।’ धान रोप्ने समयमा मल नपाएका किसानले तोरी लगाउँदा पनि मलको अभाव झेलिरहेका छन् ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा दुई हजार तीन सय ३५ हेक्टरमा तोरी बाली लगाइएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए । ‘तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले दुई वर्षदेखि जिल्लामा तोरीखोती फस्टाएको छ’, उनले भने, ‘तोरीखेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरीखेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।’

पछिल्ला वर्षमा तोरीको भाउ किसानले राम्रै पाउन थालेका छन् । गाउँघरमा अहिले प्रतिक्विन्टल तोरीको मूल्य ११ हजारसम्म पर्ने गरेको छ । ८० देखि ९० दिनमा तोरीखेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलका रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरीखेतीप्रति आकर्षित हुँदै गएका जनाइएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस