२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा धार्मिक पर्यटनको गन्तव्य बन्दै महाराजा थान

२०७९ मंसिर ११, आईतबार प्रकाशित ( साल अघि) ४६३ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु गरिएको मन्दिरमा गएर भाकल गरेपछि पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा भाकल चढाउन र पूजाआजा गर्ने भक्तजनको बाक्लो भीड लाग्ने गरेको छ ।

महाराजा बाबालाई साचो मनले सम्झेर गरेको भाकल पूरा हुने भएकाले यस मन्दिरमा दिनहुँ भाकल गर्न र पूजापाठ गर्न आउने बढ्दै गएका मन्दिरका पुजारी शिवराज महतोले बताउनुभयो ।

“यो मन्दिरको छुट्टै विशेषता रहेको छ, त्यो हो यहाँ भाकल गरेका सबै कुरा पूरा हुनु”, उहाँले भन्नुभयो । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत यो कुराले चकित पर्ने गरेका छन् ।

यस मन्दिरमा भाकल गर्न र पूजापाठ गर्न भारतको देहरादुनबाट नेपालका लगभग सबै क्षेत्रका तीर्थालु आउने गरेका पुजारी महतो बताउनुहुन्छ । कावासोती नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल जिल्लाकै मुख्य धार्मिक र पर्यटकीयस्थल मानिन्छ ।

यद्यपि आम श्रद्धालु र घुमन्ते पर्यटकको रोजाइमा परे झैँ सरकारको नजरमा भने यो पुण्यधाम नपरेको कावासोतीवासी गुनासो गर्छन् । प्रचारप्रसारको अभावले ओझेलमा परेको भए पनि पछिल्ला केही वर्षदेखि यहाँ आउने भक्तजन उल्लेख्यरुपमा बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापाले बताउनुभयो ।

मन्दिर नजिकै वनभोज स्थलको समेत व्यवस्थापन भएपछि पछिल्लो समय वनभोजका लागि आउने पनि बढ्दै गएका अध्यक्ष थापा बताउनुहुन्छ । चिसो हावा र यहाँबाट देखिने मनोरम दृश्यका कारण वनभोजका लागि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सोअनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोडभन्दा धेरै रकम आवश्यक पर्ने जनाएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले दिनुपर्ने जति चासो नदिएको अध्यक्ष थापाको गुनासो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस