२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा झाँक्रीले अगुल्टोले झोस्दा र्‍यापर गम्भीर घाइते

२०७९ कार्तिक २६, शनिबार प्रकाशित ( साल अघि) ५१५ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीको कोइलापानी गाउँमा बिरामी निको बनाउने भन्दै मुखमा अगुल्टो झोसेर घाइते बनाउने झाँक्रीका विरुद्ध प्रहरीमा जान पीडित डराएका छन् ।

घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । झाँक्रीले फेरि नराम्रो गर्न सक्ने डराएका पीडितका परिवारले घटनाको ९ दिन बितिसक्दा पनि प्रहरीमा उजुरी दिन आनाकानी गरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार काठमाडौं बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर कावासोती–१ का २० वर्षीय मिलनजंग कुँवर बिरामी भएर घर आएका थिए । केही असामान्य व्यवहार देखिएका उनमा ‘डिप्रेसन’ भएको जस्तो लक्षण थियो ।

उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाइएका थिए । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् । आगोले पोलेर प्रतिकार गर्न खोज्दा बल प्रयोग गरेर पटक–पटक झोसेको स्थानीयको भनाइ छ ।

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ । उनकी आमा चन्द्रकुमारीले ती झाँक्रीले उपचारका लागि १४ हजार पठाएको जानकारी दिइन् । ‘अरु सबै मैले ऋण खोजेर गरेकी छु,’ चन्द्रकुमारीले भनिन्, ‘थुप्रै खर्च भैसक्यो होला हिसाब गरेकै छैन ।’ झाँक्रीका बारेमा प्रहरीमा किटानी जाहेरी दिनुपर्ने भन्दै प्रहरीले वास्ता गरेको थिएन ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि भने पीडितले लिखित उजुरी नदिए पनि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी सन्तोष ढकालले भने, ‘पीडकलाई पक्राउ गरेका छौं, पीडितबाट जाहेरी मागेर थप कारबाही अघि बढाउँछौं ।’ घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट साढे ४ किलोमिटर उत्तरमा पर्छ । छरछिमेकी र जनप्रतिनिधिहरूले पनि घरायसी कुरो भनेर घटनाका बारेमा जानकारी नगराएको बारेमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस