२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

विष्णुकुमार कार्की र तिलकबीच रोचक दोस्रो प्रतिष्पर्धा

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) १०३९ पाठक संख्या

कावासोती । नेपाली काँग्रेसका नेता विष्णुकुमार कार्की र एमालेको नेता तिलक महतको दोस्रो पटकको चुनावी भीडन्तले नवलपुर क्षेत्र नं; २ को प्रतिष्पर्धालाई चाखलाग्दो बनाएको छ ।

यी दुईबीच यसअघिको निर्वाचनमा प्रतिष्पर्धा भइसकेको छ । २०७४ निर्वाचनमा महतले विजय हासिल गर्दा कार्कीले उनलाई कडा टक्कर दिएका थिए । यसपटक लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदानमा होमिएका महतलाई कांग्रेसका विष्णु कार्कीले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।

गत निर्वाचनमा उक्त क्षेत्रबाट महतले कार्कीलाई १ हजार ३ सय ३३ मतले पराजित गरेका थिए । त्यतिबेला महतले ३९ हजार ५३ मत ल्याएका थिए भने कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए । त्यसबेला नेकपा एमाले फुटेको थिएन र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । तर अहिले नेकपा एमाले फुटेको र माओवादी केन्द्र सहित पाँच दलीय गठबन्धन कांग्रेसको साथमा रहेको हुनाले कांग्रेस बलियो भएको नेताहरु दाबी छ ।

अघिल्लो निर्वाचनमा झिनो मतान्तरसहित जित हात पारेका तिलक महतले यसपटक केही बढी मिहेनत गर्नुपर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा पराजित बनेका विष्णु कार्कीले नै यसपटक पनि उम्मेदवारी दिएका हुनाले कांग्रेसले एकीकृत समाजवादी र माओवादीको केही मतले नतिजा आफ्नो पक्षमा पार्ने अपेक्षा गरेको छ ।

त्यसतै क्षेत्र नं: २ अन्तर्गतको प्रदेश नं: “क” मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका सौगमकुमार सिर्पाली र नेकपा एमालेबाट पदमा जिसी चुनावी मैदानमा छन् भने प्रदेश “ख” मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका डा गोपाल खनाल र नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डे चुनावी मैदानमा उत्रिएका छन् ।

नवलपुरका प्रभावशाली व्यक्तित्वका रुपमा मानिएका डा गोपाल खनालले एकीकृत समाजवादीबाट प्रदेशसभामा उम्मेदवारी दिएका कारण पार्टीको साथै खनालको व्यक्तिगत मत प्रतिनिधिसभामा पनि कांग्रेसलाई नै पर्ने अपेक्षा गरिएको छ । गत स्थानीय तह निर्वाचनमा कार्कीको क्षेत्र रहेको हुप्सेकोट गाउँपालिका मात्र नेपाली कांग्रेसले जित हात पारेको थियोे ।

त्यस्तै नेकपा एमालेका तिलक महत तराईकै बासिन्दा भएको र केही हदसम्म उनको ‘थर’ कै कारण जातीय मत पनि ल्याउन सक्छन् । नवलपुरमा मध्यविन्दु र कावासोतीका केही थारु समूदायको मत नै निर्णायक मत रहेको हुनाले ‘महत’लाई थारु समूदायको मत पर्न सक्छ । यद्यपी उनी थारु महत भने होइनन् ।

गत निर्वाचनमा पहिलोपटक राजनैतिक मैदानमा उत्रिएका कार्कीले नवलपुरको पहाडी क्षेत्रको विकासमा सम्बोधन गर्नसक्ने योजना बनाएमा, पार्टीभित्रबाट पूर्ण साथ पाएमा नतिजा उनको पक्षमा जाने सम्भावना बलियो छ ।

त्यस्तै वर्तमान सांसद तिलक महतले पनि पहाडी क्षेत्रको विकासमा खासै सम्झनालायक काम गरेको जनताले ‘भेउ’ पाउन सकेका छैनन् । महतको सकारात्मक पक्ष भनेको यसपटकको स्थानीय तह निर्वाचनमा उनको क्षेत्रमा पर्ने बौंदीकाली, विनयी त्रिवेणी, मध्यविन्दु र कावासोती नगरपालिका नेकपा एमालेले जित हात पारेको छ, त्यो नै उनको सबल पक्ष हो ।

महतले यसपटकको निर्वाचनमा उक्त स्थानीय तहहरुमा उम्मेदवारको व्यक्तिगत प्रभाव वा पार्टीको संगठनका कारण जित हात पारेको हो, त्यस कुराको पुष्टी गर्न निकै चुनौती देखिएको छ ।

कतिपय अवस्थामा गत स्थानीय तह निर्वाचनमा पार्टीका ‘राम्रा’ उम्मेदवार वा मतदाताको साथ भन्दा पनि विपक्षी पार्टीका ‘नराम्रा’ उम्मेदवारको कारण हुनसक्छ भन्ने कुरालाई पनि महतले विश्लेषण गर्नुपर्ने देखिन्छ ।

उक्त क्षेत्रका प्रदेशसभा ‘ख’ का गठबन्धनका उम्मेदवार डा गोपाल खनाल बलिया उम्मेदवार हुन् । डा खनाललाई अझै गठबन्धनले प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनाएको भए अझै राम्रोसँग नतिजा आफ्नो पक्षमा पार्नसक्ने स्थानीय नेताहरु बताउँछन् । पहाडी भेग बौंदीकालीका पुराना बासिन्दा रहेका डा खनाल पछिल्लो समय सदरमुकाम कावासोतीमा बसेर व्यावसायिक एवं राजनीतिक रुपमा सक्रिय रहेका व्यक्तित्व हुन् ।

त्यस्तै प्रदेशसभा ‘क’ मा भने जनताका लागि दुवै उम्मेदवार नयाँ जस्ता लाग्ने भएका कारण को बलियो भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको छैन । यस क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार महिला भएको मात्र नभइ तुलनात्मक रूपमा समाजमा केही भिजेकी भएका हुनाले उनको पल्ला भारी हुने पनि अनुमान लगाउन सकिन्छ । तर, गठबन्धनको निर्देशनअनुसार मतदाता चलेको खण्डमा उनलाई सिर्पालीले सजिलै टक्कर दिने कुरामा कुनै द्विविधा छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस