२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा गठबन्धन तोडियो,कांग्रेस र माओवादीको छुट्टाछुट्टै उम्मेदवारी

२०७९ आश्विन २४, सोमबार प्रकाशित ( साल अघि) ८०० पाठक संख्या

परासी: गठबन्धनको सहमति लत्याउँदै नवलपरासीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं; १ मा गठबन्धनको सहमति लत्याउँदै दुई पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका हुन् ।

गठबन्धन सहमतिअनुसार उक्त निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य र ‘क’ तर्फको प्रदेशसभा सदस्य नेपाली कांग्रेसलाई दिइएको थियो । भने ‘ख’तर्फको प्रदेश सभा सदस्य माओवादी केन्द्रलाई दिइएको थियो । तर ‘ख’तर्फको प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका रामानन्द यादवले उम्मेदवारी दर्ता गराइसकेपछि नेपाली कांग्रेसका देवकरण जयसवालले उम्मेदवारी दर्ता गराए पश्चात माओवादी केन्द्रको जिल्ला नेतृत्व आक्रोशित बन्दै सबै पदमा उम्मेदवारी दिएको हो ।

कांग्रेसबाट उम्मेदवारी दिने जयसवाल संविधानसभा सदस्यसमेत हुन् । माओवादी केन्द्रका यादवले प्रचण्डले हस्ताक्षर गरेको पत्रमार्फत उम्मेदवारी दर्ता गराएका हुन् भने कांग्रेसका जयसवालले शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्रमार्फत उम्मेदवारी दर्ता  गराएका हुन् ।

गठबन्धन सहमति तोडिएको भन्दै माओवादी केन्द्रकी सीतादेवी बौडेलले प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् । बौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव जितेकी हुन् । सहमति तोडिएको भन्दै कांग्रेसको भागमा परेको  ‘क’ तर्फको प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका चन्द्र ढकालले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउँदै माओवादी केन्द्रकी केन्द्रीय सदस्य एंव जिल्ला सहइन्चार्जसमेत रहेकी नेता बौडेलले कांग्रेसले गठबन्धनको सहमति तोडेकाले आफूहरुले उम्मेदवारी दिएको बताईन् । ‘कांग्रेसले बेइमानी गरेको छ । केन्द्रमा एउटा निर्णय हुने र जिल्लामा आएर उम्मेदवारी दर्ता गराएकाले सबै पदमा उम्मेदवारी दिएका हौं । कि सहमतिअनुसार हुनु पर्‍यो हैन भने हाम्रो उम्मेदवारी अन्तिमसम्म रहन्छ’ बौडेलले भनिन् ।

उक्त निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसबाट उद्योगपति विनोद चौधरी, जनता प्रगतिशिल पार्टी जप्रपाका हृद्येश त्रिपाठी र एमालेबाट सिन्धु जलेसालगायत अन्यदलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, एमालेबाट दीपेन्द्र अधिकारी, राप्रपाबाट पूर्वआइजिपी धुब्रबहादुर प्रधानलगायतका दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उक्त निर्वाचन क्षेत्रमा एमाले र जसपाबीच तालमेल गरिएको छ । भने राप्रपाले लोसपासँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको हो ।

सत्तागठबन्धनबाट उक्त निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य र ‘ख’तर्फको प्रदेशसभा सदस्य नेपाली कांग्रेसलाई परेको छ भने ‘क’तर्फको प्रदेशसभा सदस्य माओवादी केन्द्रलाई परेको छ । सोहीअनुसार उम्मेदवारी दर्ता गरिएको छ । रातिअबेरसम्म मनोनयन दर्ता चलिरहेको छ । यो समचार अन्नपूर्ण पोस्टमा नवलपरासीकाबाट हरि शर्माले लेख्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस