२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीका म्यानपावर व्यवसायी फरार, बिदेश पठाउने भन्दै ३ करोड ठगेर

२०७९ भाद्र ६, सोमबार प्रकाशित ( साल अघि) २२६७ पाठक संख्या

कावासोती ।  वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ठगी गरेको आरोप लागेका कावासोतीका एक म्यानपावर व्यवसायी फरार भएका छन् । पीडितको उजुरीका आधारमा उनीविरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका छैनन् ।

पीडितका अनुसार कावासोती नगरपालिका १४ का मुक्ति थनेतले आयरल्यान्ड र बुल्गेरिया पठाइदिने भन्दै २० जनासँग १५ लाखका दरले रकम उठाएर बेपत्ता भएको भन्दै पीडितले वै‍देशिक रोजगार विभागमा उजुरी गरेका छन् ।

गत जेठमा कावासोतीका श्यामप्रसाद लम्सालसमेत ७ जनाले मुक्तिविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् । उजुरीका आधारमा वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीलाई गत जेठ १० गते पत्र पठाएर थनेतलाई ‘पक्राउ गर्नू’ भन्ने आदेश दिएको छ । विभागले अपराध महाशाखा बानेश्वरलाई पनि त्यसै दिन पत्र पठाएर पक्राउ गर्न भनेको छ ।

लम्सालसहित कृष्ण थापा, चेत भण्डारी, खिमानन्द पाण्डे, सन्तोष अर्याल, सोमनाथ, पतिराम थनेतले प्रहरीमा संयुक्त उजुरी दिएका थिए । मुक्तिलाई पैसा बुझाउने सबै नवलपरासीका हुन् । पीडितले मुक्तिको बैंक खातामा नगद जम्मा गरिदिएको प्रमाणसहित प्रहरी र प्रशासन कार्यालयमा उजुरी दिएको करिब ३ महिना बितिसक्दा पनि मुक्ति पक्राउ परेका छैनन् । पीडितमध्येका श्यामप्रसाद मुक्तिबाट ठगिएकाहरूलाई न्याय दिइयोस् भन्दै जहाँ पुगे पनि कतैबाट न्याय नपाइएको र आफूहरूको उजुरीको सुनुवाइ नभएको गुनासो गर्छन् ।

‘वैदेशिक रोजगारमा मासिक तलब ९० हजारदेखि ३ लाख रुपैयाँसम्म पाइने भन्दै उनले हरेक व्यक्तिबाट १५ लाख रुपैयाँका दरले नगद लिएको २ वर्ष भइसक्योस न विदेश पठाए न पैसा फिर्ता दिए । हामी अलपत्र पर्‍यौं‚’ पीडितले गुनासो गरे ।

मुक्ति श्रीमतीसहित काठमाडौंमा बस्ने गरेको लम्साल बताउँछन् । गत साता उनी घरमै ९कावासोती० आउँदा पनि प्रहरीले बेवास्ता गरेको उनले बताए । ‘हाम्रो पैसा खाएर बिचल्ली बनाउने मुक्ति थनेत काठमाडौं र कावासोतीमा खुलेयाम हिँडेको हिँड्यै छन् । प्रहरीलाई खबर गर्दा वास्तै गर्दैनन्‚’ लम्साल भन्छन् ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको गुनासो गर्न पीडितहरू आइतबार जिल्ला प्रशासन कार्यालयमा आएको र चाँडो पक्राउ गर्न आफूले प्रहरीलाई आदेश दिएको टेलिफोनमा बताए । ‘अभियुक्त चाँडै पक्राउ पर्छन्‚’ प्रजिअ घिमिरेले भने‚ ‘अभियोग पुष्टि भए मुक्तिरामको जायजेथा रोक्का गरेर रकम असुल्ने र थप कारबाही हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकृत सन्तोष ढकालले मुक्तिको घर देखाइदिए आफूहरूले खोजतलास सुरु गर्ने  बताए । ‘घर देखाइदिने मान्छे पठाइदिनुस्स हामी खोज्छौं‚’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%४%५%

प्रतिक्रिया दिनुहोस