२०७९ आश्विन १९, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द

२०७९ श्रावण २३, सोमबार प्रकाशित ( महिना अघि) २३४ पाठक संख्या

 दयाराम आचार्य , कावासोती ।

नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनाबाट अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
गएको चैतबाट जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ ( अपरेशन पूर्व बेहोस बनाउने चिकित्सक ) नहुँदा अपरेशन सेवा बन्द हुन पुगेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।चैत अघि सम्म कोभिड करारमा एक जना एनेस्थेसियन चिकित्सक रहेकोमा सो कर्मचारीले काम छाडेपछि नयाँ जनशक्ति नआउँदा अपरेशन सेवा नै बन्द भएको हो ।

चैतमा एनेस्थेसियन चिकित्सकले काम छाडेपछि लगतै सर्जन चिकित्सक आफै बिरामी परेर सेवा रोकिएको र पछि एक दुई वटा सामान्य अपरेशन सेवा प्रदान गरेपनि बिरामी बेहोस बनाउने विषयमा जोखिम लिने विषय नभएपछि सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।‘चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो , सर्जन एक जना हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो , यसले गर्दा अपरेशन सेवा बन्द भयो , पछि अपरेशनको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ’ सूचना अधिकारी सुवेदीले भन्नुभयो ।

जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाईड्रोसिल, सीएस लगायतको अपरेशन सेवा हुँदै आएकोमा अहिले सबै सेवा बन्द भएको छ । सामान्य घाउहरुको चिरफार र अपरेशन बाहेकको अपरेशन सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । अहिले अस्पतालमा सजर्न चिकित्सक समेत नरहेको उहाँले बताउनुभयो । एक जना सर्जन चिकित्सक रहेकोमा उहाँको सरुवा भएपछि अहिले अपरेशन सेवा प्रदान जनशक्ति झनै नभएको उहाँको भनाई रहेको छ ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीर बहादुर थापा आफै सर्जन हुनुहुन्थ्यो , उहाँको हालै मात्र सरुवा भएको छ । उहाँको सरुवा पछि मेसुको पद रिक्त भएको छ । अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ जनाको भएपनि ७ जना मात्रै कर्मचारी रहेका छन् । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएपनि सोही अनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् । थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचे अनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस