२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

१५ करोड लागतमा हुप्सेकोटमा पुग्यो बिजुली

२०७८ चैत्र ३, बिहिबार प्रकाशित ( साल अघि) ३७० पाठक संख्या

 

नारायण शर्मा

पूर्वी नवललरासी — १५ करोडको लागतमा हुप्सेकोट गाउँपालिकाको दुर्गम भेगमा पहिलो पटक बिजुली पुगेको छ । हुप्सेकोट गाउँपालिकाको विकट मौलाथरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बालिएको छ ।

उज्यालो हुप्सेकोट अभियानअन्तर्गत गाउँपालिकाभित्रका सबै बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुर्‍याउने योजनाअन्तर्गत वडा नम्बर ६ को मौलाथरमा विद्युत् लगिएको हो । मंगलबार राति औपचारिक रुपमा बिजुली बत्ती बालेर उद्घाटन गरिएको छ । वडा नम्बर ६ का ५ सय ७४ घर परिवारले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा दिइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले जानकारी दिइन् । राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेसँगै हुप्सेकोटका ३२ सय घरमा आगामी ३ महिनाभित्र बिजुली बाल्ने गरी काम अघि बढेको छ ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरण प्रसारण निर्देशनालयका प्रबन्धक टेकनाथ तिवारीले यो गर्मीयाममै हुप्सेकोट गाउँपालिका पूर्ण विद्युतीकरण भइसक्ने बताए । उनले विकट हुप्सेकोटलाई प्राथमिकतामा राखेर काम गरिएको र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको अग्रसरता सराहनीय भएको सुनाए ।

अतिविकटमा रहेको मौलाथर गण्डकी प्रदेशको विशेष संरक्षित क्षेत्रअन्तर्गत पर्छ । हुप्सेकोट मगर समुदायको बाहुल्यता रहेको गाउँपालिका हो । धौवादी फलामखानी समेत रहेको यहाँको दुर्गम गाउँमा पहिलो पटक बिजुली पुगेको हो ।

उत्तरमा पाल्पाको निस्दी गाउँपालिकासँग सिमाना जोडिएको मौलाथर पुग्न हुप्सेकोटा गाउँपालिकाको कार्यालयबाट ६ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । वडा नम्बर ६ को पेलेगा दमार, जगदेउ, भण्डारी, धौला, कुर्गानटार, छिनडाडा ,केवरा ढाप, खर्क, जापडाँडा, सागा भञ्ज्याङ, पिपलडाँडा, मौलाथर, रमितेलगायत बस्तीमा विद्युत सेवा विस्तार भएको हो ।

विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकी प्रदेशका प्रमुख केदारनाथ सिलवालले कोरोनाको प्रभावले भनेको समयमा बजारमा विद्युतीय सामग्री नपाउँदा सोचेअनुसार काम अगाडि बढ्न नसके पनि अन्य क्षेत्रको तुलनामा हुप्सेकोट गाउँपालिकामा विद्युतीकरणको काम निकै छिटो अगाडि बढेको जानकारी दिए ।

उज्यालो हुप्सेकोट कार्यक्रमअन्तर्गत सुरु गरिएको प्रसारण लाइन निर्माणमा संघीय सरकारको १० करोड, प्रदेश सरकारको साढे तीन करोड र हुप्सेकोट गाउँपालिकाको साढे २ करोड रुपैयाँ लागतमा काम भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस