२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता बारे छलफल

२०७८ चैत्र १, मंगलबार प्रकाशित ( साल अघि) ८२५ पाठक संख्या

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको समतामूलक र समानुपातिक सहभागिता बारे सोमबार काठमाण्डौमा छलफल भएको छ । दलित महिला केन्द्र र अन्तरपुस्ता महिलावादी मंन्चको संयुक्त आयोजना भएको उक्त कार्यक्रममा २०७९ मा हुने स्थानीय तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्नु पर्ने भन्दै राजनीति दलका प्रतिनिधिहरूले प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमीले पार्टीहरूले आन्तरिक संरचना रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भयो । त्यसैगरी गठबन्धनको कारण आगामी निर्वाचनमा महिला सहभागिता कम हुने सम्भावना देखिएको बताउँदै संविधानले प्रमुख उपप्रमुखमा महिला प्रावधान राखे पनि पार्टीभित्र त्यो बहसको विषय बन्न नसक्ने जिकिर गर्नु भयो । यमीले विगतका दिनमा भएका कमिकमजोरीलाई सच्चाइ आगामी दिनमा महिला अझै सशक्त भै अघि आउनु पर्ने र महिला  कोटा भन्दा बाहिर रहेर निर्वाचनमा भाग लिनु पर्नेमा जोड दिदै  आफ्नो पार्टी महिला सहभागितामा सकारात्मक रहेको बताउनु भयो ।

त्यसैगरी दलित महिला केन्द्रकी संस्थापक गौरा नेपालीले , संविधानले स्थानीय तहको निर्वाचनमा दलित महिलाको सहभागिता सुनिश्चित गरेता पनि राजनीति दलभित्र दलित सहभागिता सुनिश्चित नभएको बताउनु भयो  यसैगरी पहिलो स्थानीय तहको निर्वाचनमा देशभर ६५६७ दलित महिला वडा सदस्य निर्वाचित भएको समेत जानकारी दिनु भएको थियो ।
सोही कार्यक्रममा राधिका रेग्मीले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै निर्वाचन धेरै महँगो भयो जसले गर्दा महिलाको उपस्थिति उल्लेखनीय मात्रामा हुन नसक्नु दुखद पक्ष रहेको जानकारी दिनु भयो । कार्यक्रमका अर्का वक्ता जनता समाजवादी पार्टीका सदस्य हेमराज राईले महिला सहभागिता सबै राजनीति दल भित्र छ तर निर्णय तहमा महिलालाई ल्याउन राजनीति दलले अभ्यास नगरेको बताउनु भयो । पार्टी आफैमा रूपान्तरण हुन आवश्यक छ ।

कानुन प्रभावकारी भएकोले महिलाहरूको हरेक स्थानमा उच्च सहभागिता छ ,त्यसलाई पनि सकारात्मक रुपमा लिनु पर्ने जोड दिनु भयो ।  त्यसैगरी अधिकारकर्मी भारती सिलवाल गिरीले राजनीतिमा महिलालाई टिक्न दिइदैन उनको चरित्र हत्या गरेर बाटोबाट हटाउने कोशिश गरिन्छ, महिलाको सवाल राष्ट्रको सवाल भएकोले महिलाको मुद्दालाई कुनै पनि रणनिति दलहरूले अनदेखा गर्न नमिल्ने जिकिर गर्नु भयो । महिलाहरूको आर्थिक क्षेत्रमा पहुँच कम भएकोले महँगो निर्वाचन लड्न गाह्रो भएको गिरीले बताउनु भयो ।  कार्यक्रममा नेकपा माओवादीका नेता सुरेश आले मगरले महिला सहभागिता पार्टीमा बढाउन कोशिश गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । महिलाहरुले चलाएको सस्था सफल भएको बताउँदै यो पार्टी भित्र र आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरुलाइ अध्यक्ष पदमा सहभागि गराउन पहल गर्ने बताउनु भयो ।

यसैगरी नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले, प्रश्न गरेपछि मात्र उत्तर आउने भन्दै महिला सहभागिता बढाउन राजनीति दलले खेलेको भूमिकाको कदर गर्नु पर्ने बताउनु भयो । नेता पौडेलले पार्टीलाइ नियमबद्ध तरिकाले अघि बढाउन समय समयमा दबाब गर्नु आवश्यक रहेको र महिला,दलित,अपांग लगायतका सवालहरु राष्ट्रको सवाल भएको जिकिर गर्नु भयो । साथै आगामी निर्वाचनमा महिला नेतृत्व सुनिश्चित गर्न पार्टी भित्र बहस भैरहेको जानकारी समेत दिनु भएको थियो ।

कार्यक्रममा नेपालको संविधान २०७२ बमोजिम २०७४ को संघ,प्रदेश र स्थानीयतहको निर्वाचनमा महिला प्रतिनिधिहरुको सख्या संघीय सदनमा ९० जना र प्रदेश सभामा १८९ जना रहेको कार्यक्रमकि सहजकर्ता तथा अभियानकर्मी सरु जोशिले जानकारी दिनु भयो । स्थानीय तहमा पालिका प्रमुखहरुमा ७ जना , उपप्रमुखममा २७६ जना ,वडा अध्यक्ष ६१, वडा सदस्य ६७४२ र दलित महिला वडा सदस्य ६५६७ जना निर्वाचित भएको बताइयो ।
कार्यक्रममा सबै राजनीतिक दलहरुलाइ स्थानीय निर्वाचनलाइ लैगिंक उत्तरदायि बनाउन तथा स्थानीय तहको निर्वाचनको उम्मेदवारी र परिणाम दुवैमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिला सहभागिता सुनिश्चित गर्न १३ बुदे अपिल पत्र बुझाइएको थियो ।  कार्यक्रममा सहभागिहरुले राजनीति दलको प्रतिबद्धता वास्तविकतामा परिणत होस भन्दै जनता चरम महगीको मारमा परेको र यसको निराकरण राजनीति दलले नै गर्नु पर्ने बताएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस