चितवन । जिल्लामा पछिल्ला वर्षहरुमा धान उत्पादन घट्दै गएको छ । धान खेती गर्ने क्षेत्रफलमा समेत कमी आएको एक तथ्याङ्कले देखाएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार चालु आर्थिक बर्षमा जिल्लामा २२ हजार ९ सय २७ हेक्टर क्षेफलमा बर्षे धान खेती गरिएको थियो । जहाँ ८९ हजार ४ सय १५ मेट्रिकटन धान उत्पादन भएको कार्यालयकी कृषि अर्थ विज्ञ कमला न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार गत आर्थिक बर्षमा जिल्लामा २७ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यस वर्ष १ लाख ३ हजार ४ सय १६ मेट्रिकटन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७६/७७ मा जिल्लामा २७ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा १ लाख १४ हजार ९ सय ६ मेट्रिकटन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार चैते धान उत्पादनमा स्थिरता रहेको छ । आर्थिक बर्ष २०७६/०७७ मा ४ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा २० हजार ७ सय ५० मेट्रिकटन उत्पादन भएको थियो ।
आर्थिक बर्ष २०७७/०७८ मा सोही क्षेत्रफलमा त्यतिनै उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार बर्षे धानमा क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्वमा अघिल्लो बर्षको तुलनामा केही सुधार भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४ दशमलब २१ मेट्रिकटन प्रतिहेक्टर रहेको उत्पादकत्व अघिल्लो आर्थिक बर्षमा ३ दशमलब ७९ मा झरेको थियो । यस आर्थिक बर्षमा उत्पादकत्वमा केही बृद्धि भएको छ । यस वर्ष उत्पादकत्व ३ दशमलब ९ पुगेको न्यौपानेले बताउनुभयो । स्थानीय पालिकाहरुले दिएको तथ्याङ्कका आधारमा यस वर्ष बर्षे धानको क्षेत्रफल र उत्पादन घटेको उहाँको भनाई छ ।
गत बर्ष धानमा रोगका कारण उत्पादन घटेको हो । यस बर्ष धान पाक्ने समयमा बर्षा बढि हुँदा धानमा क्षती भएको न्यौपानेले बताउनुभयो । प्रमुख अन्न बालिकै रुपमा रहेको मकैको उत्पादन बिगत दुई वर्षमा स्थिर रहेको छ । पछिल्ला दुई आर्थिक बर्षमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको थियो । सो क्षेत्रफलमा ९८ हजार ६ सय ४४ मेट्रिकटन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक बर्षमा २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६ सय ४४ मेट्रिकटन मकै उत्पादन भएको थियो । उत्पादकत्व ३ दशमलब ७९ मेट्रिकटन प्रतिहेक्टर रहेको छ ।