२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधाले घटे

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) ८४१ पाठक संख्या

नवलपुर,साउन १० –

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा घुम्न आउने पर्यटकको सङ्ख्यामा आधाले कमी आएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा ९० हजार २२६ ले कमी आएको छ । निकुञ्जमा गत आवमा ९२ हजार २०९ पर्यटक मात्रै घुम्नका लागि आएका अधिकारीले बताउनुभयो ।

त्यस्तै अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका अधिकारीको भनाइ छ । गत आर्थिक वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेको अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने बाह्य पर्यटकको सङ्ख्या ज्यादै नै न्यून भएको अधिकारीले बताउनुभयो ।

गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका पर्यटक र एक हजार २४४ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेको अधिकारीले जानकारी दिनुभयो । गत आवमा कोरोना सङ्क्रमण त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको अधिकारीले बताउनुभयो ।

“निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा लगभग बराबर जस्तै छ”, अधिकारीले भन्नुभयो, “तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बाह्य पर्यटकको सङ्ख्या नगन्य मात्रामा आएको देखिन्छ ।” निकुञ्जमा अघिल्लो आव २०७६/७७ मा ८९ हजार ४४१ आन्तरिक पर्यटक आउँदा सार्क मुलुकबाट १४ हजार २३९ तथा विदेशी मुलुकबाट ७८ हजार ७५५ पर्यटक आएका अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो आवमा निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ६५३ महिला तथा ५१ हजार ७८८ पुरुष थिए । त्यस्तै सार्क मुलुकबाट छ हजार ६७ महिला र आठ हजार १७२ पुरुष तथा विदेशी मुलुकबाट ३३ हजार ६९४ महिला र ४५ हजार ६१ पुरुषले निकुञ्जको भ्रमण गरेको अधिकारीले बताउनुभयो ।

गत आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष छन् । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका अधिकारीले जानकारी दिनुभयो ।

निकुञ्जको राजस्वमा कमी

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसँगै यहाँ सङ्कलन हुने राजस्वमा समेत एक चौथाइ भन्दा बढीले कमी आएको छ । निकुञ्जले सङ्कलन गर्दै आएको राजस्वमा अघिल्लो आवको भन्दा गत आवमा कूल रु १५ करोड ४८ लाख ९३ हजार ५१५ ले कमी आएको जनाइएको छ । निकुञ्जमा गत आव २०७७/७८ मा जम्मा रु चार करोड ४३ लाख ६२ हजार १६६ मात्रै राजस्व सङ्कलन भएको छ भने अघिल्लो आव २०७६/७७ मा रु १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व सङ्कलन भएको थियो ।

यहाँ घुम्न आउने पर्यटकबाट सङ्कलन हुने राजस्व घट्दा निकुञ्जले सङ्कलन गर्ने राजस्वमा कमी आएको सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आव भन्दा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु १६ करोड ४८ लाख ४७ हजार २३६ कम राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आव २०७६/७७ मा पर्यटक शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ राजस्व सङ्कलन भएकामा गत आव २०७७÷७८ मा रु दुई करोड ५५ लाख ३७ हजार ८२८ मात्रै राजस्व सङ्कलन भएको अधिकारीले बताउनुभयो ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस