२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

कोरोना कहरमा होमस्टे : पाहुना ठप्प, ढोका ढ्याप्प

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित ( साल अघि) १५२८ पाठक संख्या

खगेन्द्र पराजुली

नवलपुर, ८ साउन– कोरोना महामारीका कारण पाहुनाको आगमन शून्य अवस्थामा पुगेपछि सामुदायिक होमस्टे सञ्चालकहरु मर्कामा परेका छन् । पहिलो चरणको लकडाउन असरबाट उठ्न नपाउँदै दोस्रो चरणको चपेटामा परेपछि होमस्टे सञ्चालकहरु प्रभावित भएका हुन् ।

महामारी साम्य नभइसकेको अवस्थामा अझै केही समय बन्द भएका होमस्टेका ढोकाहरु खुल्ने सम्भावना छैन । होमस्टे सञ्चालकहरु फुर्सदमा छन् । यही फुर्सदको समयलाई सिर्जनशील र उत्पादनशील बनाउन कावासोतीका होमस्टेधनीहरु लागि परेका छन् ।

नवलपुरको कावासोती १० मा रहेको चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टे सञ्चालकहरुको समूह अहिले अर्गानिक तरकारी उत्पादन गरी आम्दानीको अर्को उपाय भेटेका छन् । यसबाट उनीहरुको दैनिकीमात्रै सहज भएको छैन, राम्रै आम्दानी पनि भइरहेको छ ।

डब्लुडब्लुएफ र लामिचौर मध्यवर्ती वन उपभोक्ता समितिको २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगबाट होमस्टे सञ्चालकले जमिन भाडामा लिएर तरकारी खेती गरेका हुन् । होमस्टेका १३ सदस्यले सामूहिक रुपमा पहिलो पटक तरकारी खेती गरेको होमस्टेका अध्यक्ष भेषराज महतोले बताए ।

होमस्टेले एक कठ्ठामा एउटा टनेल बनाएर बेमौसमी तरकारी उत्पादन गरिरहेको छ । यसका साथै १३ कठ्ठा क्षेत्रफलमा लहरे तरकारी खेती अन्तर्गतका करेला, बोडी, घिरौंला, काक्रा लगाएर उत्पादनसमेत लिन थालेको होमस्टेका अध्यक्ष महतोले बताए ।

अहिले उत्पादित तरकारी स्थानीय बजारमै खपत हुँदा बिक्री गर्नैका लागि समस्या नभए पनि उत्पादित वस्तुको मूल्य पाउन भने नसकेको होमस्टेका व्यवस्थापक प्रेमबहादुर मुखियाको गुनासो छ । तराईको पानी जम्ने जमिनमा बर्खाको मौषममा तरकारी खेती जोगाउन समस्या भए पनि धेरै पानीलाई निकास बनाएर व्यवस्थापन गरिएको उनले बताए ।

कोरोना संक्रमणका कारण होमस्टेका ढोकै बन्द भएका बेला आम्दानीका अन्य कुनै विकल्प नदेख्दा तरकारी खेतीमा मन गएको मुखियाको भनाइ छ । ‘थारु समुदायको बस्ती, आर्थिक अवस्था पनि सामान्य नै छ । दैनिक हुने आम्दानीले दैनिकी चलाउथ्यौं । होमस्टेको माध्यम पनि आम्दानीको स्रोत बन्ने रहेछ भन्ने लागेर होमस्टे चलायौं,’ उनी भन्छन्, ‘तर, सञ्चालन गरेको केही महिनामै यस्तो महामारी आइलाग्यो । आम्दानी खाने कुरा त परको भयो राम्रोसँग चलाउन पनि भ्याएनौ ।

अहिले समूहमै तरकारी उत्पादन गरेर भएपनि दैनिकी गुजारा चलाउन केही सहज भएको सामूहिक तरकारी खेतीमा आवद्ध सदस्यले बताए । होमस्टे सञ्चालनका लागि स्थानीय र प्रदेश दुवै सरकारले सहयोग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस