२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना चैतमा, ४० हात्ती परिचालन गरिने

२०७७ फागुन २५, मंगलबार प्रकाशित ( साल अघि) ११२४ पाठक संख्या

चितवन, फागुन २५ । कोरोना संक्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना थालिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो चरणमा चितवन ब्लकअन्तर्गत राखिएको पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणना सुरु गर्न लागेको हो । विभागका सूचना अधिकारी पर्यावरणविद् हरिभद्र आचार्यका अनुसार चितवन र पर्सासँगै गणना गरिने छ । यसै बीचमा चैत १७ गतेदेखि बर्दियामा र १९ गतेदेखि शुक्लाफाँटामा गणना सुरु गर्ने उनले जानकारी दिए ।

आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारै निकुञ्जमा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेबाट गैँडा गणना गर्ने भनिए पनि कोरोना संक्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । गणना गर्नुअघि चैत ५ देखि ७ गतेसम्म गणक, माउतेलगायत कर्मचारीलाई तालिम दिइँदै छ ।

गणनामा दुई सयबढी कर्मचारी परिचालन हुने छन् जसमध्ये १५० हाराहारी चितवन ब्लकमा परिचालन हुनेछन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जलाई चितवन ब्लकमा राखिएको छ । यस क्षेत्रमा गणनामा ४० हात्ती परिचालन गरिनेछ । बर्दिया र शुक्लाफाँटामा भने सात÷आठवटा हात्ती परिचालन गरे पुग्नेछ । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुन सकेको थिएन ।

सरकारले गत वर्ष गैँडा गणनाका लागि एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरीद भएकाले यस वर्ष सरकारले ८० लाख विनियोजन गरेको छ । दाताहरुबाट २५ लाख हाराहारी सहयोग हुने उनले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायत संघसंस्थाको सहयोगमा गणना गरिँदैछ । हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतको प्रयोग गरिन्छ । गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५–५ वर्षमा उक्त गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने बरालले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा पश्चिम क्षेत्रमा गैँडाको संख्या बढी छ । गणनापछि ती गैँडालाई बासस्थान व्यवस्थापन गरी पूर्वमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको बरालले बताए । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६०५ थिए । सरकारले पहिलोपटक सन् १९९४ मा गैँडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गणना भएको अधिकारीले जानकारी दिए । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस