२०७९ श्रावण ३१, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पसाउन लागेको धानमा ‘गबारो’ र ‘राते’

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

नवीन पौडेल

भदौ,१९ कावासोती । बाला लाग्ने बेलाको धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित भएका छन् । यसपालि मल तथा कीटनाशक औषधिबिनै रोपाइँ गरेका उनीहरू धानमा ‘गबारो’ तथा ‘राते’ रोगको सामना गरिरहेका छन् ।

कावासोती–१७ की देवी शर्माको १० कट्ठा क्षेत्रफलमा लगाएको बालीमध्ये करिब ४ कट्ठामा गबारो लागेर धानको बिरुवा नै मर्न लागेको छ । ‘लकडाउनको समयमा न रासायानिक मल पाइयो, न त उन्नत जातको बीउ । अहिले आएर धानमा गबारो लागेर नष्ट भएको छ,’ उनले भनिन्, ‘लकडाउनमा रोजगारी गुमेर सबै परिवार घरमै छन् । यही खेतीले जीविका चलाउने आशा थियो । अब के गर्ने ?’ कावासोती, गैंडाकोट, मध्यविन्दु, देवचुलीका किसान पनि यस्तै समस्या भोगिरहेका छन् ।

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानहरूको गुनासो छ । उनीहरूले स्थानीय तहले क्षतिको विवरण संकलन गरेर राहत दिनुपर्ने माग गरेका छन् ।

कृषि ज्ञान केन्द्र सम्पर्क एकाइ कार्यालय कावासोतीकी प्रमुख मीरा चौधरीले जिल्लामा करिब ७ सय हेक्टर क्षेत्रफलमा गबारो तथा राते रोगले धान बालीमा क्षति पुर्‍याएको बताइन् । ‘मौखिक रूपमा जानकारी आएको छ,’ उनले भनिन्, ‘किसानलाई टेलिफोनमार्फत समस्या समाधानबारे परामर्श दिइएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस