२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा एकै दिन ३५ जनामा संक्रमण

२०७७ भाद्र ७, आईतबार प्रकाशित ( साल अघि) ९६३ पाठक संख्या

हरि शर्मा

परासी ७ भदौ : पश्चिम नवलपरासीमा आइतबार मात्रै ३५ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये पृथ्वीचन्द्र जिल्ला अस्पतालका ४ जना डाक्टर र १ नर्स छन्। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताललाई सिल गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए।

 

आइतबार नै अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारी गरी कुल ६० जनाको स्वाब संकलन गरिएको छ। अस्पताल सिल गरेपछि प्रसुति र आकस्मिक सेवासमेत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। स्वाब संकलन गरिएका स्वास्थ्यकर्मीमध्ये १५ जनाको  तत्काल रिपोर्ट मगाउने र त्यसपछि आकस्मिक र प्रसुती सेवा सुरु गरिने उनले बताए।  रिपोर्ट नआउने बेलासम्म प्रसुति र आकस्मिक सेवाका लागि आउने बिरामीलाई अन्यन्त्र पठाइने छ। जिल्ला अस्पतालबाट दिइने सेवा अन्य अस्पतालमा छैन। त्यसका लागि भैरहवा र बुटवल जानुपर्ने बाध्यता छ।

आइतबार संक्रमित फेला परेका अन्यमा पाल्हीनन्दन गाउँपालिकामा मात्र २६ जना छन्। जसमा गाउँपालिका अध्यक्ष दीपक गुप्ता र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रकी १ स्टाफ नर्स छन्। सबैभन्दा बढी उक्त गाउँपालिकाको वडा नं. ३ का मात्रै १९ जना छन्। सो वडामा ३ वर्षीय बालकमा पनि पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख गौरब ढकालले बताए। अन्य ७ जना वडा नं ४, ५ र ६ का छन्। त्यसै गरी बर्दघाट नगरपालिकाका ३ र जिल्ला अदालतका १ कर्मचारीमा पनि आइतबार कोरोना संक्रमण देखिएको स्वास्थ्य प्रमुख ढकालले बताए।

सबै संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरुमध्ये केही होम आइसोलेसन र केही परासीस्थित पाल्ही क्याम्पसको आइसोलेसनमा रहेका छन्। ७ स्थानीय तह रहेको जिल्लामा हालसम्म १ सय ७६ जना संक्रमित छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस