२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

१४ औँ महाधिवेशनका लागि निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

२०७८ भाद्र १०, बिहिबार प्रकाशित ( साल अघि) १०२३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो ।

पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले ढिलामा पनि आउँदो शुक्रवारसम्म सबै जिल्लामा क्रियाशील सदस्यताको अन्तिम सूची र जिल्ला निर्वाचन अधिकृत खटाइने जानकारी दिए । विवाद समाधान गर्न बाँकी रहेका केही जिल्लामा क्रियाशील सदस्यता सूची र जिल्ला निर्वाचन अधिकृत खटाउन थप एक/दुई दिन समय लाग्न सक्ने जनाएको छ ।

बिहीवारसम्म पार्टीले निर्वाचन समितिलाई क्रियाशील सदस्यताको अन्तिम सूची हस्तान्तरण गर्नेछ । पार्टी सभापतिले क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएपछि महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

सबै जिल्लाका पठाइने जिल्ला निर्वाचन अधिकृतको सूची तयारी अवस्थामा रहेको जनाइएको छ । पार्टी निकट रहेका शिक्षक, प्राध्यापक, कानुनविद् सम्बद्ध शुभेच्छुक संस्थाबाट जिल्ला निर्वाचन अधिकृत खटाउँदैछ । जिल्लामा पठाइने जिल्ला निर्वाचन अधिकृतलाई आफ्नो या वरपरको जिल्लामा समेत नपठाउने नीति निर्वाचन समितिले बनाएको छ । आफ्नो या नजिकको जिल्लामा जाँदा पार्टीको निर्वाचनलाई प्रभावित हुन सक्ने पक्षलाई विचार गरी यस खालको नीति बनाइएको जानकारी निर्वाचन समितिका संयोजक यादवले दिए ।

जिल्लाका वडा, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा भने जिल्लाभित्रकै शुभेच्छुक संस्थाका व्यक्तिहरूलाई नै मतदान अधिकृत बनाइनेछ । उहाँले जिल्ला निर्वाचन अधिकृत सम्बद्ध जिल्लामा गइसकेपछि स्थानीय तहमा रहेका पार्टीको संरचनाको अधिवेशनका लागि मतदात अधिकृत खटाइने बताए ।

यसैबीच कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय निर्वाचन समितिले पार्टीसितको समन्वयमा महाधिवेशन प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् । जिल्ला जिल्लामा पुगेका निर्वाचन अधिकृतले पार्टीसितको सल्लाहमा मतदान अधिकृत खटाउने छ । उनले क्रियाशील सदस्यतालगायतका पार्टीभित्रका विभिन्न समस्याको छिनोफानो भएकाले अब महाधिवेशन सहज तरिकाले अघि बढ्ने जानकारी दिए । महाधिवेशनका लागि अब सबै बाटो खुला भएको उनको भनाइ छ ।

निर्वाचन समितिको सक्रियता

पार्टीको निर्वाचन गर्नका लागि पार्टीबाट गठित केन्द्रीय निर्वाचन समितिले आफ्नो काम प्रारम्भ गरेको छ । नेपाल शिक्षक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी कानुन व्यवसायीलगायतका सरोकारवालासित छलफल गरी जिल्ला निर्वाचन अधिकृतको सूचीलाई झन्डै अन्तिमरूप दिइएको समितिका संयोजक यादवले जानकारी दिए । कानुनविद् महादेव यादवको संयोजकत्वमा गठित निर्वाचन समितिमा गोपालकृष्ण घिमिरे, सीताराम केसी, यज्ञराज पोखरेल र तेजबहादुर रावल छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

कांग्रेसले आगामी साताबाट स्थानीय तहको वडा स्तरबाट महाधिवेशन प्रक्रिया सुरु गर्दैछ । आगामी भदौ १८ गते गाउँ नगरको वडा अधिवेशन, भदौ २७ गते गाउँ नगरपालिका स्तरको अधिवेशन, असोज १ गते प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन, असोज ५ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन गर्ने पार्टीको कार्यतालिका छ । यसपछि कात्तिक १० देखि १२ गतेसम्म प्रदेश र मङ्सिर ९ देखि १२ गतेसम्म १४औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसको छ ।

पार्टी कार्यालयमा धर्ना

यसैबीच पार्टीका केही नेताले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका जिल्ला सभापतिहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, चित्रलेखा यादवलगायतले बुधवार धर्नामा ऐक्यबद्धता जनाएका छन् ।

यसअघि उहाँहरू पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा विभिन्न विषयमा छलफल गरी धर्ना स्थलमा पुुगेका हुन् । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका जिल्ला सभापति रमेश धमला तथा युवा नेता रञ्जित कर्ण र डिल्लीराम सुवेदीलगायत रिले अनशनमा बसेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस