२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

हिन्दू राज्य हुनुपर्ने र राजतन्त्र नेपालको लागि चाहिन्छ भन्ने योगी र नेपालको राजपरिवारबीच यस्तो छ सम्बन्ध

२०७५ मंसिर २६, बुधबार प्रकाशित ( साल अघि) ९७७ पाठक संख्या

काठमाडौं । बुधबार राम—जानकी विवाह महोत्सवमा नेपाल आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालका हिन्दू धर्माबलम्बी र पूर्वराजपरिवारसँग निकटको सम्बन्ध रहेको पाइन्छ । उनी सन् २०१४ मा गोरखनाथ मठका महन्थ हुनुभन्दा अघिका महन्थ अवैद्यनाथसँग पनि नेपालको तत्कालीन राजपरिवारको राम्रो सम्बन्ध रहेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सन् २०१६ को अक्टोबरमा आयोजना गरेको विराट हिन्दू महासम्मेलनमा पनि योगी आदित्यनाथलाई बोलाएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चालेपछि अन्तर्राष्ट्रिय जगतबाट आलोचना भइरहेका बेलामा भारतका सांसदको रुपमा ज्ञानेन्द्रको कदमलाई समर्थन गरेर उनले ठूलो राहत दिएका थिए ।

पछिल्लो पटक सन् २०१८ को जनवरी महिनाको पहिलो साता नेपालका पूर्वराजा ज्ञानेन्द्रले लखनउस्थित मुख्यमन्त्रीको सरकारी निवासमा उनलाई भेटेका थिए । पूर्वराजासँगको भेटघाट ओहोदावाला विदेशीले त्यसअघि सार्वजनिक नगरेकोमा योगी आदित्यनाथले भने नेपालका पूर्वराजालाई आफूले सल लगाइदिएको र कुम्भको लोगो उपहार दिएको भनेर ट्वीटरमा फोटोसमेत सार्वजनिक गरेका थिए । के विषयमा कुराकानी भयो भन्ने बारेमा चाहिँ उनले त्यतिबेला खोलेका थिएनन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकटको सम्बन्ध रहेका योगी आदित्यनाथसँगको आफ्नो सम्बन्धलाई भारतको संस्थापन पक्षसँग सम्पर्कको महत्वपूर्ण माध्यमका रुपमा नेपालको पूर्वराजपरिवारले लिएको पाइन्छ । केहीअघि भारतीय सञ्चार माध्यममा सन् २०१९ को जनवरी २६ मा हुने भारतीय गणतन्त्र दिवसमा नेपालका पूर्वराजा पनि सभावित अतिथि भनेर चर्चामा आउनुमा यो कडीले पनि काम गरेको सम्बन्ध विज्ञहरुको भनाइ पाइन्छ ।

पूर्वराजा होइन दक्षिण अफ्रिकाका राष्ट्रपति प्रमुख अतिथि

यद्यपि भारतको गणतन्त्र दिवसमा नेपालका पूर्वराजा ज्ञानेन्द्र प्रमुख अतिथि बन्ने चर्चा गरिसकेको छ । किनकि जी २० को हालै अर्जेन्टिनामा भएको शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर १ का दिन दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसलाई गणतन्त्र दिवसको प्रमुख अतिथिको निम्तो दिइसकेका छन् । सो निम्तो दक्षिण अफ्रिकी राष्ट्रपतिले पनि स्वीकार गरेका छन् । सन् २०१९ को मे महिनामा भारतमा लोकसभाको निर्वाचन हुन लागेकोले पनि छिमेकी नेपालसँगको सम्बन्ध बिगार्ने पक्षमा अहिले मोदी नरहेको पनि यो घटनाक्रमले पुष्टि गरेको छ ।

यद्यपि उत्तरप्रदेशका योगी सन्यासीसँग नेपालका राजाहरुको सम्बन्ध भने नयाँ होइन । सन् १९९२ मा तत्कालीन राजा वीरेन्द्र स्वयं ड्राइभ गरेर उत्तर प्रदेशमा रहेको गोरखनाथ मठ पुगेको बताइन्छ । त्यहाँ पुगेर उनले नेपाल हिन्दू राज्य रहने, हिन्दू राजा कायम रहने र गाई काट्न नदिने प्रतिवद्धता समेत जनाएका थिए । अहिलेका योगी आदित्यनाथले पनि तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चालेपछि पटक पटक नेपाल आएर शाही घोषणाको पक्षमा अभिव्यक्ति दिएका थिए । पूर्वराजा त्यतिबेला नेपालगञ्जमा एक होटल उद्घाटन गर्न गएकोमा त्यतैबाट गोरखपुर गएका हुन् । पछिल्लो समयपनि पूर्वराजा र योगी नियमित सम्पर्कमा रहने पूर्वराजा निकट स्रोतको दाबी छ ।

योगी आदित्यनाथलाई सन् २०२४ को चुनावपछि भारतको प्रधानमन्त्रीका रुपमा पनि कतिपयले चर्चा गर्ने गरेका छन् । तर, भाजपाको जोड घटाउ मिलाउन उनलाई त्यति सजिलो भने छैन । सन् २०१९ को मे महिनामा हुने निर्वाचनमा कसले जित्छ अहिले नै यसै भन्न सकिँदैन । नरेन्द्र मोदी नै फेरि प्रधानमन्त्री हुने चर्चा भएको भए पनि पछिल्लो मत परिणामले भने आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ । यद्यपि नेपाल तथा भारत जस्ता दक्षिण एशियाली मुलुकमा मतदाताको मूड एक रातमै पनि बदलिन सक्ने अवस्था भएकोले विधानसभाको परिणामलाई नै अन्तिम सत्य मानिहाल्ने अवस्था छैन । २०१९को निर्वाचनमा जे भएपनि २०२४ को निर्वाचनपछि भने प्रधानमन्त्रीका उम्मेदवारका रुपमा योगी आदित्यनाथलाई ग्रुमिङ्ग नगरिएला भन्ने सक्ने अवस्था भने छैन ।

गोरखनाथ मठ र नेपाल साइना

भारतको उत्तर प्रदेशमा रहेको गोरखनाथ मठलाई नाथ संप्रदायको मन्दिरको रुपमा लिइन्छ । सो मन्दिर ११ औं शताब्दीका ख्यातिप्राप्त सन्त गोरखनाथसँग सम्बन्धित रहेको बताइने गरेको छ । नाथ परम्पराको स्थापना मच्छेन्द्रनाथले गरेको मानिन्छ । उत्तर प्रदेशमा भएको मठको क्षेत्रफल पनि निकै ठूलो छ । गोरखनाथ मन्दिरमा नेपालका तत्कालीन राजाहरु पनि नियमित रुपमा जाने गरेको ऐतिहासिक तथ्यहरुले बोल्ने गरेका छन् । गोरखनाथ मन्दिर एउटा नेपालको गोर्खामा र अर्को गोरखपुरमा रहेको बताइने गरेको छ । मकर संक्रान्तिको समयमा भारतको गोरखपुरमा ठूलो संख्यामा भक्तजन जाने गरेको पाइन्छ । उनीहरुले गोरखनाथबाबालाई सो अवसरमा खिचडी चढाउने गरेका छन् ।

यो मठ आधा शताब्दी भन्दा अघिदेखि राजनीतिमा मुछिँदै आएको छ । सन् १९२१ मा तत्कालीन महन्थ दिग्विजय सिंह कांग्रेसमा प्रवेश गरेका थिए । तर, गान्धीको असहयोग आन्दोलनको उनले विरोध गरे । त्यस सम्बन्धी विवाद र हत्या प्रयासको आरोपमा उनलाई भारत स्वतन्त्र भएपछि पक्राउ गरेर ९ महिना थुनामा राखिएको थियो । छुटेपछि सन् १९४९ मा उनी राम जन्मभूमि अभियानमा लागेका थिए । यसबाट उनी चर्चित भए र १९६७ मा गोरखपुरबाट सांसद समेत बने ।
उनीपछिका महन्थ अवैद्यनाथ स्वतन्त्र रुपमा विधानसभा सदस्य १९६२, १९६७, १९६९ र १९७४ मा भए भने गोरखपुरबाट १९७० र १९८९ मा सांसद भएका थिए । त्यसपछि भारतीय जनता पार्टीमा प्रवेश गरेका उनी सन् १९९१ र १९९६मा सांसद भएका थिए । उनका चेला योगी आदित्यनाथ त अहिले उत्तर प्रदेशका मुख्यमन्त्री नै भएका छन् । उनी सन् १९९८ देखि गोरखपुरको सांसद रहेका थिए । आदित्यनाथ उत्तर प्रदेशको मुख्य शक्तिकेन्द्रको रुपमा समेत चिनिन्छन् । उनले नेपाल हिन्दू राज्य हुनुपर्ने र राजतन्त्र नेपालको लागि चाहिने भनेर पटकपटक विगतमा अभिव्यक्ति दिएका थिए ।

उनको हिन्दू युवा वाहिनी कतिपय समयमा हिंस्रक गतिविधिमा संलग्न रहेको पनि पाइन्छ । आदित्यनाथ सन् २०१७ को १८ मार्चबाट उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा कार्यरत छन् । उनी हालै भारतमा भएको विधानसभा निर्वाचनमा पार्टीको पक्षमा चुनाव प्रचार गर्ने काममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह पछि सबैभन्दा सक्रिय रुपमा लागेका थिए ।
(तस्बिरः योगी आदित्यनाथको ट्वीटरबाट)-बाह्रखरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस